07/14/2025, 11:09:28

आराध्य बने ‘युसिमास च्याम्पियन अफ दी च्याम्पियन’


कीर्तिपुर (काठमाडौँ), ११ जेठः आराध्य रञ्जितकार कलम, कागज वा क्यालकुलेटरबिना मनमनै हिसाब गर्ने गणितीय कला (युसिमास) प्रतियोगिताको ‘च्याम्पियन अफ दी च्याम्पियन’ घोषित भएका छन् ।

आज यहाँ सम्पन्न उक्त प्रतियोगितामा सहभागी देशभरका रब ५०० विद्यार्थीबीचको प्रतिस्पर्धाबाट उनले सो उपाधि पाएका हुन् । बाह्र वर्षीय रञ्जितकार काठमाडौँकै काजिरोवा स्कुलमा कक्षा ७ मा अध्ययनरत छन् ।

विश्वव्यापी रूपमा मान्यता प्राप्त युसिमास कार्यक्रमअन्तर्गत तालिम प्राप्त बालबालिकाहरूको अद्वितीय मानसिक गणित क्षमतालाई कार्यक्रममा प्रस्तुत गरिएको थियो । कार्यक्रममा युसिमास अन्तरराष्ट्रिय मुख्यालय मलेसियाका प्रमुख अलेक्सन वोंगले विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै बालबालिकाको संज्ञानात्मक विकासमा युसिमास कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

प्रतियोगितापछि आयोजित कार्यक्रममा विजयी विद्यार्थीहरूलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा सबै सहभागीहरूलाई सम्मान गरिनाका साथै उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।