05/24/2025, 18:37:40

“रूस–युक्रेन युद्धबन्दी सटासटबारे राष्ट्रपति ट्रम्पको घोषणा, तीन वर्षयताकै सबैभन्दा ठूलो हुने अपेक्षा”


कीएभ, युक्रेन, १० जेठ : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेन र रूसबीच युद्धबन्दीहरूको एक महत्वपूर्ण सटासट सम्पन्न हुने जानकारी दिनुभएको छ । यो सटासट तीन वर्षदेखि जारी द्वन्द्वकालीन अवधिमा सबैभन्दा ठूलो हुने बताइएको छ ।

गत साता इस्तानबुलमा सम्पन्न वार्तामा युक्रेन र रूसले एक अर्काका एक–एक हजार युद्धबन्दीहरू साटासाट गर्ने सहमति जनाएका थिए । यद्यपि, घटनासँग नजिकबाट संलग्न एक वरिष्ठ अधिकारीका अनुसार यो सटासट प्रक्रिया अझै पूर्णरूपमा सम्पन्न भइसकेको छैन ।

राष्ट्रपति ट्रम्पले आफ्ना सामाजिक सञ्जालमार्फत यस सटासट सम्पन्न भएको घोषणा गर्नुभयो । तर, ती अधिकारीले सटासटको प्रक्रिया हाल जारी रहेको र औपचारिक रूपमा सम्पन्न नभएको स्पष्ट पार्नुभयो । राष्ट्रपति ट्रम्पले उक्त घोषणासँगै यस्तो सटासटले भविष्यमा सकारात्मक सङ्केत दिन सक्ने सम्भावना रहेको पनि उल्लेख गर्नुभयो ।

तीन वर्षदेखि जारी युद्धको क्रममा दुवै देशमा हजारौं युद्धबन्दीहरू रहेका छन् । अनुमानअनुसार, रूसी पक्षले युक्रेनी युद्धबन्दीहरू ठूलो सङ्ख्यामा नियन्त्रणमा राखेको छ, जसको सङ्ख्या आठ हजारदेखि १० हजारबीचमा रहेको बताइएको छ । दुवै पक्षले युद्धबन्दीहरूमाथि अन्तर्राष्ट्रिय कानुनअनुसार व्यवहार नगरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसङ्घले पनि बन्दीहरू दुवै देशमा यातना तथा अमानवीय व्यवहारको शिकार भएको पुष्टि गरेको छ ।

रूसले केही बन्दीहरूलाई अदालती कारवाहीमा पेस गरेको, कैयौंलाई यातना दिएको र केही युक्रेनी बन्दीहरू बन्दी अवस्थामै मृत्यु भएको विवरणहरू सार्वजनिक भएका छन् । साथै, कब्जा गरिएको युक्रेनी भूभागबाट केही नागरिकहरू रूस लैजाने गरिएको विश्वास गरिन्छ ।

यसै वर्ष, पत्रकार भिक्टोरिया रोश्चिनाको मृत्युपश्चात उहाँको शव रूसबाट युक्रेन फिर्ता गरिएको थियो ।

युक्रेनका हराइरहेका व्यक्तिहरूका लागि जिम्मेवार आयुक्त आर्तुर दोब्रोसेर्दोभले गत महिनामा सञ्चारमाध्यमलाई जानकारी दिँदै भन्नुभयो, “हाल करिब ६० हजार व्यक्ति हराइरहेका छन्, जसमध्ये १० हजार को बन्दी अवस्थाको पुष्टि भएको छ । ” एक उच्च अधिकारीका अनुसार, “प्रत्येक सटासटमा यस्ता व्यक्तिहरू समेत फिर्ता हुने गरेका छन्, जसको अवस्थाबारे पहिले केही जानकारी थिएन ।

सन् २०२२ मा मारीउपोलमा भएको सैन्य घेराबन्दीको क्रममा धेरै युक्रेनी सैनिकहरू बन्दी बनाइएका थिए । त्यसबाहेक, सन् २०१४ मा रूसले क्राइमिया कब्जा गरेयता पनि केही युक्रेनी नागरिकहरू रूसी नियन्त्रणमा रहेको जनाइएको छ ।

रूसी युद्धबन्दीहरूको सङ्ख्या युक्रेनी पक्षमा तुलनात्मक रूपमा कम रहेको अनुमान गरिएको छ । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले युद्धकालभर रूसी सैनिकहरूलाई बन्दी बनाएर भविष्यका सटासटहरूका लागि ‘विनिमय कोष’ तयार राख्न आवश्यक भएको बताउँदै आउनुभएको छ ।

सन् २०२४ मा युक्रेनी सेनाले रूसको कुस्र्क क्षेत्रमा गरेको आक्रमणको क्रममा सयौं रूसी सैनिकहरूलाई बन्दी बनाएको थियो । त्यसक्रममा केही उत्तर कोरियाली सैनिकहरू पनि बन्दी बनाइएको उल्लेख गरिएको छ, जसले रूसको पक्षबाट लडाइँमा सहभागी भएको बताइएको छ । साथै, युक्रेनले रूसी सेनासँग मिलेर काम गरेको आरोपमा केही नागरिकहरूलाई जेल सजाय दिएको छ, जसलाई भविष्यका विनिमय सम्झौतामा समावेश गरिने अनुमान गरिएको छ ।

गत वर्ष, रूसको आक्रमणलाई समर्थन गरेको अभियोगमा सजाय पाएका युक्रेनी आर्थोडक्स धर्मगुरुलाई पनि युद्धबन्दी सटासटमा समावेश गरिएको थियो । रूसले यस वर्षको सुरुवातमा कुस्र्क क्षेत्रबाट आफ्ना केही नागरिकहरू युक्रेनको सुमी क्षेत्रमा लगिएको जानकारी दिएको थियो र उनीहरू अझै फर्कन नसकेको जनाएको छ ।

इस्तानबुलमा भएको पछिल्लो वार्तासम्म, दुवै पक्षबीच कायम रहेका सीमित संचार माध्यमहरूमा युद्धबन्दी तथा शवहरूको सटासट र रूसले युक्रेनी बालबालिकाहरू फर्काउने विषय प्रमुख थिए ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ