05/20/2025, 17:23:26

गाजामा मानवीय सङ्कट गहिरिँदै, इजरायली पक्षबाट आंशिक नाकाबन्दी हटाइयो


जेरुसलेम, ६  जेठ : गाजा क्षेत्रमा दिनप्रतिदिन गम्भीर बन्दै गएको मानवीय सङ्कटप्रति अन्तर्राष्ट्रिय समुदायबाट बढ्दो चिन्ता व्यक्त भइरहेका बेला इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामाथिको नाकाबन्दी आंशिक रूपमा हटाउने निर्णय गर्नुभएको छ । सो निर्णयअनुसार अत्यावश्यक राहत सामग्री सीमित मात्रामा गाजामा प्रवेश गरिनेछ ।

प्रधानमन्त्रीको कार्यालयद्वारा प्रकाशित सूचनामा गाजाका बासिन्दालाई भोकमरीको सम्भावित सङ्कटबाट जोगाउन केही आधारभूत खाद्य सामग्री पठाउने निर्णय गरिएको जनाइएको छ ।

हालसम्म राहत कहिलेदेखि प्रवेश गरिने र कुन माध्यमबाट पठाइने भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन । तर, सरकारी सञ्चार माध्यम ‘कान’ का अनुसार राहत सामग्री तुरुन्तै पठाउन थालिने र वितरण हाल गाजामा कार्यरत अन्तर्राष्ट्रिय सहायता संस्थाहरूले गर्नेछन् । इजरायली पक्षले भनेको नयाँ वितरण प्रणाली, जुन एक अमेरिकी संस्थामार्फत सञ्चालन हुने भनिएको छ, हालसम्म सुरु गरिएको छैन ।

उक्त निर्णय सुरक्षासम्बन्धी सल्लाहपछि लिइएको जनाइएको छ । यो निर्णय गाजामा हालसालै सुरु गरिएको सैन्य अभियानलाई सफल बनाउन आवश्यक कदमका रूपमा प्रस्तुत गरिएको छ । यदि गाजामा भोकमरी फैलियो भने सो अभियानमा बाधा पुग्न सक्ने चिन्ता समेत व्यक्त गरिएको छ ।

इजरायली पक्षले सहायता वितरण हमासको नियन्त्रणमा नपरोस भन्ने हेतुले आवश्यक सतर्कता अपनाइने जनाएको छ ।

प्रधानमन्त्री नेतान्याहुले आइतवार राति मन्त्री परिषद्को बैठकमा उक्त निर्णय सार्वजनिक गर्नुभएको हो, यद्यपि यस विषयमा कुनै मत विभाजन गरिएको थिएन । तर यो निर्णय प्रधानमन्त्रीको सरकारमा रहेका केही राष्ट्रवादी मन्त्रीहरूको कडा विरोधको सामना गरिरहेको छ । राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन गभीर र अर्थमन्त्री बेजालेल स्मोटरिचले यदि गाजामा सहायता पुनः सुरु गरियो भने सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय संस्थाहरूका अनुसार गाजामा गत फागुन १९ गतेदेखि लगाइएको नाकाबन्दीपछिको अवस्थाले गम्भीर रूप लिइसकेको छ । खाद्य सुरक्षासम्बन्धी संयुक्त मूल्याङ्कन अनुसार गाजाका करिब ९३ प्रतिशत मानिसहरू खाद्य अभावको गम्भीर अवस्थामा छन्, जुन सङ्कटदेखि विपद्सम्मको स्तरमा पुगेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ