गण्डकी, ६ जेठः लेखनाथ उद्योग वाणिज्य सङ्घले पोखरा महानगरपालिका–२७, ३० र ३१ स्थित ताल्चोक क्षेत्रको बाटो निर्माण ढिलाइ भएको सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्यलाई ध्यानाकर्षण गराएको छ ।
यहाँको करिब साढे तीन किलोमिटर दूरीमा बाटो निर्माण ढिलाइ भएकाले आवतजावतसँगै यहाँका पर्यटनमा नकारात्मक असर परेको भन्दै निर्माणलाई थीघ्रता दिनका लागि ध्यानाकर्षण गराइएको हो ।
सङ्घका कार्यवाहक अध्यक्ष विक्रम कर्माचार्यको संयोजकत्वमा सङ्घका पूर्वध्यक्ष बलराम ढकाल, सङ्घका कार्यसमिति सदस्य एलपी ढुङ्गानालगायत टोलीले प्रमुख आचार्यसमक्ष तालचोक बेगनास ताल बाटोको ढिलासुस्तीबारे ध्यानाकर्षण गराएको हो ।
भेटमा महानगर प्रमुख आचार्यले वर्षात् सुरु हुनुभन्दा अघि एकतर्फी बाटो तुरुन्तै सञ्चालनमा ल्याउने गरी काम गर्न निर्माण व्यवसायी तथा इञ्जिनियरलाई आग्रह गर्नुभयो ।
कार्यवाहक अध्यक्ष कर्माचार्यले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सडक पहिलो माध्यम बनेको भन्दै बर्खायाम अगाडि निर्माण सकेर बेगनास ताल क्षेत्रमा पर्यटन प्रवर्द्धन गरी स्थानीयको आयआर्जन वृद्धि गर्न अनुरोध गर्नुभयो । लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष बलराम ढकालले बेगनास तालको पर्यटकीय विकासमा सबैको सामूहिक प्रयास आवश्यक हुने बताउनुभयो ।