04/27/2025, 22:17:41

मातातीर्थमा बिहानैदेखि दर्शन गर्ने भक्तजनको घुइँचो

©मातातीर्थ औँसीका दिन आज काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा आमा नहुने भक्तजनको घुइँचो । मातातीर्थ औँशीका अघिल्लो रात भक्तजनहरु जाग्राम बसेर आमाको स्मृतिमा बत्ती बाल्ने परम्परा रहेको छ । मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनविश्वास गरिन्छ । तस्बिर स् हरिराम भेटुवाल/रासस

काठमाडौँ, १४ वैशाखः काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।

प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँसीमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा आमाको प्रतिमाको दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ । भक्तजन अघिल्लो दिन साँझदेखि आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् ।

मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले भक्तजनलाई व्यवस्थित रूपमा कुण्डमा स्नान गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । मातातीर्थ कुण्डमा दर्शन गरेमा आमा दिवङ्गत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास रहेकाले भक्तजन यहाँ आउने गरेका उहाँले बताउनुभयो ।

आज मातातीर्थ औँसीलाई आमाको मुख हेर्ने पर्वका रूपमा देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने गरिएको अध्यक्ष उदासले बताउनुभयो ।

छोराछोरी आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा दिने, मीठामीठा, तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उहाँले गरेका महान् एवम् कष्टकर काम सम्झने गर्दछन् । मातातीर्थ मेलाका अवसरमा आज चन्द्रागिरि नगरपालिकाले नगरभित्र सार्वजनिक बिदासमेत दिएको छ ।




लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ