04/25/2025, 13:04:11

‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’

हाम्रो चलचित्र हेर्न आएका दर्शकलाई भेटेर हाम्राबारेमा गरिएका समीक्षा धेरै ठाउँमा पुगोस् भनेर चलचित्र भवन पुग्ने गरेका छौँ । यदि हाम्रो त्यही कुराले दर्शकलाई असर गरेको छभने हामी सचेत हुनुपर्छ, किनकि दर्शक दुःखी बनाएर चलचित्रकर्मी खुसी हुन सक्दैनौँ ।


काठमाडौँ, १२ वैशाख : केही समययता चलचित्र भवन पुगेर दर्शकको प्रतिक्रिया लिने क्रम बढिरहेको छ । चलचित्र प्रदर्शन भइरहेको समयमा निर्माता र निर्देशक नै कलाकारसहित मिडियाकर्मी लिएर चलचित्र भवन पुग्ने गरेका छन् । दर्शकले दिनुभएको प्रतिक्रियाले चलचित्रको व्यापार बढ्ने अपेक्षासहित पछिल्लो समय यसले निरन्तरता पाएको छ ।

तर, केही दिन अगाडि एक दर्शकले यस्तो शैलीप्रति आपत्ति जनाउनुभयो । उहाँले चलचित्र भवनभित्र चलचित्र हेरिरहँदा क्यामेरा नल्याउन सुझाव दिँदै आक्रोश व्यक्त गर्नुभयो । त्यसपछि चलचित्र भवनमा दर्शक प्रतिक्रिया लिन जाने कि नजाने भन्ने विषयमा बहस चल्न थालेको छ । यस्तो शैली प्रदर्शक अर्थात् चलचित्र भवन सञ्चालकलाई पनि मन परेको छैन । तर यसलाई निर्माताले ‘पब्लिसिटीको पार्ट’ भनेपछि प्रदर्शकले केही गर्न सकेका छैनन् ।

निर्देशक निश्चल बस्नेतले दर्शकलाई भेट्न कलाकार जानु गलत नरहेता पनि गोपनीयताका बारेमा सचेत हुनु जरूरी रहेको बताउनुभयो । उहाँले अहिलेको शैलीमा परिमार्जन गरेर दर्शक प्रतिक्रिया लिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो चलचित्र हेर्न आएका दर्शकलाई भेटेर हाम्राबारेमा गरिएका समीक्षा धेरै ठाउँमा पुगोस् भनेर चलचित्र भवन पुग्ने गरेका छौँ । यदि हाम्रो त्यही कुराले दर्शकलाई असर गरेको छभने हामी सचेत हुनुपर्छ, किनकि दर्शक दुःखी बनाएर चलचित्रकर्मी खुसी हुन सक्दैनौँ ।

उहाँले आफ्नो पहिलो चलचित्र ‘लूट’ को समयमा आफूसहित अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राई काठमाडौँका विभिन्न चलचित्र भवन डुलेको स्मरण गर्नुभयो । “हामी उक्त समयमा कलाकार र निर्देशकमात्र दर्शक प्रतिक्रिया लिन पुगेका थियौँ । अहिले हामीसँग मिडिया र क्यामेरा पनि हुन्छ, सायद यसकारण दर्शकले प्रश्न गर्नुभएको हुनसक्छ । हामी यसमा सच्चिनु पर्छ”, निर्देशक बस्नेतले भन्नुभयो ।

अभिनेत्री स्वस्तिमा खड्काले आफूले यसबारेमा निर्माता तथा निर्देशकसँग छलफल गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी चलचित्र हेरिरहनुभएका दर्शकमाझ यत्तिकै पुग्दा चलचित्रमा असर गर्छ । हामी पर्दाभित्र एउटा भूमिकामा हुन्छौँ भने बाहिर भिन्न । त्यसकारण चलचित्र हेरेर निस्किने इच्छुक दर्शकले भेट्न मिल्ने वा प्रतिक्रिया दिन मिल्नेगरी हामी एउटा छुट्टै स्थान बनाएर बस्नुपर्छ जस्तो लाग्छ ।

उहाँले दर्शकले पनि कलाकार भेटेर खुसी व्यक्त गर्ने र कलाकारलाई आफ्नो कामको प्रतिक्रिया सिधँै प्राप्त हुने भएकाले यो गलत नै नभएको बताउनुभयो । प्रदर्शक तथा वितरकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले यस विषयमा प्रदर्शकबीच सल्लाह भइरहेको बताउनुभयो ।

दर्शकको गुनासो हामीले पनि सुनिरहेका छौँ । निर्माण पक्षले यसलाई प्रचारप्रसार भनेपछि हामीले पनि सहजता दिएका हौँ । दर्शक पनि कलाकार भेट्दा खुसी नै भएको पाएका छौँ । अब यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्दैछौँ”, उहाँले भन्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ