05/07/2025, 13:51:30

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत भ्रमणमा


संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति जेडी भान्स भारतको पहिलो आधिकारिक भ्रमणका लागि नयाँदिल्लीको पालम एयरपोर्टमा सोमबार अवतरण गर्नुभएको छ । उपराष्ट्रपति भान्सको चार दिने भ्रमण आजदेखि बिहीबारसम्म जारी रहने जनाइएको छ ।

परिवारसँगै भारत भ्रमणमा आउनुभएका उपराष्ट्रपति भान्सलाई केन्द्रीय मन्त्री अश्विनी वैष्णवले विमानस्थलमा स्वागत गर्नुभयो ।

आजै उपराष्ट्रपति भान्स परिवारले अक्षरधाम मन्दिर भ्रमण गर्ने कार्यक्रम तय भएको मन्दिरकी प्रवक्ता राधिका शुक्लाले बताउनुभएको छ ।

उहाँले साँझ ६ः३० बजे प्रधानमन्त्री नरेन्द्र मोदीलाई उहाँकै निवासमा भेट्ने कार्यक्रम छ । भेटवार्तामा आर्थिक सहयोग, रक्षा सहयोग र द्विपक्षीय व्यापार सम्बन्ध लगायतका विभिन्न सवालमा छलफल हुने अपेक्षा गरिएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले गत हप्ता मिडिया ब्रिफिङमा आफूहरूबीच विश्वव्यापी रणनीतिक साझेदारी रहेको उल्लेख गर्दै निस्सन्देह सबै सान्दर्भिक सवालहरूमा छलफल हुने र सम्बन्ध थप प्रगाढ हुने बताउनुभएको थियो ।

नयाँदिल्ली भ्रमणपछि भान्स परिवारले भोलि मङ्गलबार जयपुर र बुधबार आगरा भ्रमण गर्ने र बिहीबार भारतबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..