04/20/2025, 15:14:22

कञ्चनपुरमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै


कञ्चनपुर, ७ वैशाखः कञ्चनपुरमा महिला स्वास्थ्य स्वयंसेवीकाले घर घरमै पुगेर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेका छन् ।

राष्ट्रिय अभियानअन्तर्गत छ महिनादेखि पाँच वर्ष उमेरका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरिएको हो । अभियानअन्तर्गत यही वैशाख ६ गतेदेखि ७ गतेसम्म भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार भिटामिन ‘ए’ ३७ हजार पाँच सय ५४ र जुकाको औषधि ३३ हजार ४६ बालबालिकालाई खुवाउने लक्ष्य राखिएको छ ।

“अभियानको पहिलो दिन खोप केन्द्र र तोकिएका स्थानमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको हो”, उहाँले भन्नुभयो, “आज महिला स्वास्थ्य स्वयंसेवीकाले केन्द्रमा नआएका बालबालिकाको घर–घरमै पुगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँछन् ।”

शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका महिला स्वास्थ्य स्वयंसेवीका राजु रानाले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि बिहानैदेखि बालबालिकाको घर घरमा जान थालेको बताउनुभयो । “केन्द्रमा थोरै मात्रै बालबालिका आएका छन्”, उहाँले भन्नुभयो, “नआएका बालबालिकालाई घरमै खुवाउनका लागि पुग्दै छौँ ।”

भिटामिन ‘ए’ कार्यक्रम सरकारले विसं २०५० देखि अभियनका रुपमा सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने विसं २०५६ देखि बालबालिकालाई खुवाइदै आएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ