सिन्धुपाल्चोक, ७ वैशाख : ‘सुकुटे’ लाई १५ बुँदे गुरुयोजनासहित पर्यटकीय क्षेत्र घोषणा गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले आज एक कार्यक्रमका बीच पर्यटकीय क्षेत्र घोषणा गरेकोे हो ।
पूर्वसभामुख अग्निप्रसाद सापकोटाले सुकुटेलाई पर्यटकीय हबका रूपमा विकास गर्न अल्पकालीन र दीर्घकालीन गुरुयोजनासहित दिशानिर्देश गर्ने १५ बुँदे पत्र पढेर कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि सापकोटाले पर्यटन भनेको आर्थिक विकासको मेरुदण्ड भएको बताउनुभयो । सिन्धुपाल्चोकमा पर्यटनको प्रचुर सम्भावना भए पनि दूरदृष्टि र सम्भावनाको खोजी गर्नुपर्ने उहाँको तर्क थियो ।
बागमती प्रदेशसभा सदस्य युवराज दुलालले सुकुटेलाई पर्यटकीय क्षेत्र घोषण गरेसँगै सिङ्गोे सिन्धुपाल्चोकलाई पर्यटकीय क्षेत्र घोषणा गर्न बाटो खुलेको बताउनुभयो । सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घका अध्यक्ष महेन्द्रसिंह थापाले सुकुटेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने काम गौरवको विषय भएको बताउनुभयो । नगरपालिकाले सुकुटे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले २०७६ फागुनमा सम्पन्न प्रथम सुकुटे महोत्सव, पर्यटन व्यवसायीसँग नगरपालिकाको छलफल, सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घको संयोजनमा २०८१ सालमा भएको राष्ट्रिय बिच भलिबल प्रतियोगितामा भएका निचोडलाई समेत आधार मानी यो निर्णय गरिएको नगरप्रमुख सापकोटाले जानकारी दिनुभयो ।
त्यसैगरी, होटल, रिसोर्ट तथा पर्यटनसँग सम्बन्धित व्यवसायलाई दिगो रुपमा सञ्चालन गर्न नीति निर्माण गरी स्थानीय तहमार्फत नियमन गर्ने, सुकुटे क्षेत्रमा पर्यटकीय पूर्वाधार विकास गर्न आगामी नगरसभाबाट कानुन निर्माण गरी सुकुटे पर्यटन विकास समिति गठन गरी उक्त समितिलाई पर्यटन शुल्क उठाउने र त्यसलाई सुकुटेको पर्यटकीय पूर्वाधार विकासमा खर्च गर्न पाउने गरी व्यवस्था गरिने भएको छ ।
प्रत्येक वर्ष नगरपालिकाले बजेट विनियोजन गरी सुकुटे क्षेत्रको पर्यटन पूर्वाधार निर्माण गर्ने, सुकुटेमा कृषि सङ्कलन केन्द्र निर्माण गरी र आसपासका क्षेत्रका कृषिजन्य वस्तु सङ्कलन गरी सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घको समन्वयमा सुकुटे क्षेत्रका होटल तथा रिसोर्टमा खपत गराइने नीति लिइने भएको छ । यस्तै नदी संरक्षण र पर्यटनलाई व्यवस्थित गर्न करिडोर हरियाली अभियानसहित जैविक विविधता तथा पर्यावरण संरक्षण गरिने, निश्चित क्षेत्रलाई र्याफ्टिङ जोनका रूपमा विकास गरी नदीजन्य उत्खननलाई वैज्ञानिक व्यवस्थापन गरिने तथा सुकुटे क्षेत्रलाई जलबिहारको हब बनाउनेलगायत उद्देश्य घोषणापत्रमा उल्लेख गरिएको छ ।