04/19/2025, 13:59:32

हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध


मध्यविन्दु (नवलपरासी), ५ वैशाख : दाउन्ने क्षेत्रको बाटो हिलो र चिप्लो भएका कारण नारायणगढ–बुटवल सडकखण्ड अवरूद्ध भएको छ । आज भएको वर्षाका कारण दाउन्ने क्षेत्रमा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएपछि अहिले यो राजमार्गमा सवारी सञ्चालन गर्न समस्या भएको हो ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारणले सडक हिलो भएकाले गाडी उकालो र ओरालोमा चिप्लिएर सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । अहिले दाउन्ने क्षेत्रमा सयौँ सवारी जाममा परेका छन् । हिलोमा गाडी फसेकाले सडक अवरुद्ध भएको हुँदा जेसिभीले तानेर सवारी सञ्चालन गरिरहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिनुभयो ।

राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म दाउन्ने सडक बन्द गरेर विस्तारको काम गर्ने गरिए पनि आज दिउँसोदेखिको जामले सयौँ सवारी बीच सडकमा रहेकाले विस्तारको कामसमेत रोकिने भएको छ ।

अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको अवस्थामा वर्षाले सडक अवरुद्ध बनाएको हो । दाउन्ने क्षेत्रमा गत वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म आवागमन रोकेर विस्तारको काम भइरहेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ