त्रिवेणी (नवलपरासी), १९ चैत : नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र गरिएको छ । पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र गरिएको हो ।
योजनाका सूचना अधिकारी शिव खनालका अनुसार आउँदो बर्खा अगाडि नै बाँकी १३ किलोमिटर सडकसमेत कालोपत्र गर्ने लक्ष्यअनुसार काम भइरहेको छ । दाउन्ने खण्डमा यात्रा गर्दा सास्ती खेप्नुपरेकाले सो क्षेत्रमा चार किलोमिटर र घुमाउरो घुम्तीमा चार किलोमिटर सडक वर्षाअघि नै ढलान गरिने उहाँले बताउनुभयो । ढलानको काम यसै सातादेखि थालिने छ ।
“पहिलो चरणमा एकतर्फी रूपमा यातायात सहज होस् भन्ने हो, यसलाई प्राथमिकता दिएका छौँ, सँगै दोस्रो भागतर्फको काम पनि समानान्तर रूपमा भइरहेको छ”, सूचना अधिकारी खनालले भन्नुभयो ।
विसं २०७५ माघमा सम्झौता भएर २०७९ साउनमा सडक विस्तारको काम सम्पन्न गर्नेगरी काम अघि बढाइएको हो । नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी काम थालिएको हो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउनसम्मका लागि दोस्रोपटक म्याद थप गरिएको थियो । सो अवधिमा पनि काम सम्पन्न नभएपछि २०८२ साउनसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ ।
एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक विस्तार योजनाको दुवै खण्ड रु १६ अर्ब ९९ करोड ५३ लाखको लागतमा काम भइरहेको सूचना अधिकारी खनालले बताउनुभयो । एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन तथा २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नेमा १४ किलोमिटर सडक तीन लेनको हुने छ ।