
काठमाडौँ, १७ चैतः सुरक्षा पन्त स्टारर फिल्म ‘खेल’ को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । २ मिनेट ३० सेकेण्डको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे विस्तृत खुलाउँछ । ट्रेलरमा सुरक्षासहित कलाकार मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटालाई चित्रण गरिएको छ ।
फिल्मलाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका हुन् । नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर र सस्पेन्सको मिश्रणमा कथा आधारित छ । अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका चार साथी, जसलाई विगतको भयानक घटनाले पछ्याएको छ ।
फिल्मलाई सिरुपाते कट्स प्रालिको ब्यानरमा लुइसराज महर्जन र आशिषराज महर्जनले निर्माण गरेका हुन् । पटकथा अभितेन्द्र र अनुराग प्रधानले लेखेका हुन् । ‘खेल’ बैशाख १२ गतेदेखि प्रदर्शन तयारीमा छ ।