काठमाडौँ, १५ चैतः म्यान्मामा केन्द्रविन्दु बनाएर शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट बैंककमा एक सरकारी कार्यालयका लागि निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेको प्रहरी र चिकित्सकहरूले जानकारी दिएका छन् ।
थाई राजधानीको उत्तरी भेगमा रहेको यो भवन केही सेकेन्डमा भग्नावशेष र धातुको घुमाउरो गुच्छामा परिवर्तन भएको थियो । शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
– आपत्कालीन अवस्था घोषणा–
यसैबीच थाइ अधिकारीहरूले बैंककमा आपत्कालीन अवस्था घोषणा गरेका छन् । म्यान्मामा केन्द्रीत भूकम्पले बैंकक सहरलाई आक्रान्त पारेपछि प्रधानमन्त्री सिनावात्राले शुक्रबार आपत्कालीन अवस्था घोषणा गरिएको बताउनुभयो । भूकम्पपछि बैंककका विभिन्न भवनहरूमा क्षति पुगेको सूचना छ, जसमध्ये सहरको उत्तरी भेगमा एउटा ३० तले निर्माणाधीन भवन ढलेको थियो ।
थाई आपत्कालीन प्रतिक्रियाकर्ताहरूले राजधानी बैंककमा शक्तिशाली भूकम्प आएपछि खसेको भवनको भग्नावशेषमुनि दुई जनाको मृत्यु भएको र अज्ञात सङ्ख्यामा अन्य अझै रहेको बताएका छन् । उद्धारकर्मी सोङ्वुट वाङपोनले निर्माणाधीन अग्लो भवनको भग्नावशेषको थुप्रो बाहिर कुरा गर्दै पत्रकारहरूलाई अन्य सात जना जीवित फेला परेका जानकारी दिनुभयो ।
शुक्रबार दिउँसो ७.७ म्याग्निच्युडको भूकम्प आउँदा बहुतले भवन ढल्यो, जसका कारण भवनको शिरमा रहेको क्रेन भुइँमा ढल्यो र धुलोको विशाल हावा देखिएको थियो ।