04/02/2025, 00:11:47

पाँचौंपटक अस्ट्रेलियास्थित एडिलेड सहरमा गुञ्जियो नेपथ्य


काठमाडौँ, १० चैत : हलभरि खचाखच भीडले गाइरहेको थियो, ‘जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना ।’ गायक अमृत गुरुङको स्वरमा स्वर मिलाउँदै उनीहरू गुन्जिरहेका थिए ।

अस्ट्रेलियास्थित एडिलेड सहरमा नेपथ्य शुक्रबार साँझ प्रस्तुत भएको थियो । यस वर्षको अस्ट्रेलिया यात्राको पाँचौं कन्सर्ट नेपथ्यले एडिलेडमा गरेको हो । यस सहरमा नेपथ्य उभिएको पनि यो पाँचौंपटक हो । यसअघि दुईपटक प्रस्तुत भएकै ‘हिन्डले स्ट्रिट म्युजिक हल’मा यसपटक कार्यक्रम गरिएको थियो ।

नेपथ्यले पहिलो गीत ‘कोशीको पानी’ प्रस्तुत गर्‍यो । गत शुक्रबार भने कहिल्यै नेपाल नपुगेका अस्ट्रेलियन वृद्ध दम्पती पनि कन्सर्टको प्रारम्भदेखि अन्त्यसम्मै झुमेर नाचिरहेका थिए । एडिलेडमा तेस्रोपटक नेपथ्यलाई निम्त्याएका स्थानीय आयोजक गगन गिरी पनि शुक्रबार साँझको माहोलले असाध्यै रमाएका देखिन्थे ।

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । कलाकारको यो टिमबाहेक व्यवस्थापक र प्राविधिकको १४ सदस्यीय टोली यात्रारत छ ।

एडिलेडपछि नेपथ्य भिक्टोरिया राज्यको राजधानी मेलबर्नतर्फ लाग्नेछ । आगामी मार्च २४ मा त्यहाँस्थित ‘फेस्टिभल हल’ मा प्रस्तुति हुनेछ । त्यसपछि अन्तिम शो गर्न सिड्नीतर्फ लाग्नेछ । सिड्नीस्थित ‘होर्डन पभिलियनमा मार्च २९ र ३० मा कन्सर्ट हुनेछ । प्रस्तुति लगत्तै ब्यान्ड स्वदेश फिर्नेछ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ