कञ्चनपुर, ४ चैतः भीमदत्त नगरपालिका–११ का अन्दाजी ५८ वर्षीया कसी सुनारको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ ।
शनिबार दिउँसो घरमै बेहोस अवस्थामा फेला परेकी उहाँलाई महाकाली प्रादेशिक अस्पताल लैजाने क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिनुभयो ।
सो घटनाको अनुसन्धानका लागि मृतकका श्रीमान् गोपाल सुनार, कान्छी श्रीमती मिरादेवी सुनार, छोरा अर्जुन सुनार र करन सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शवपरीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
चट्याङ लागेर मृत्यु
यस्तै, चटयाङ लागेर कृष्णपुर नगरपालिका—७ कलुवापुरका अन्दाजी ३२ वर्षीय पदम रानाको मृत्यु भएको छ । आज हावाहुरीसँगै मेघगर्जनसहित पानी परिरहेका बेला घरको आँगनमा रहेका रानालाई चट्याङ लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक जोशीका अनुसार रानाको घटनास्थलमै मृत्यु भएको हो ।