काठमाडौँ, २७ फागुन : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आगामी बजेटमा उपत्यकाको समेट्नैपर्ने योजनाबारे उपत्यकाका जनप्रतिनिधिहरुसँग छलफल गर्नुभएको छ ।
सहरी विकास मन्त्रालयमा आज उपप्रधानमन्त्री सिंहले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका नगर प्रमुख र उपप्रमुखहरुसँग छलफल गर्नुभएको हो । सो क्रममा उपत्यकालाई कसरी व्यवस्थित र बस्नयोग्य सहर बनाउने, उपत्यकाका नदी प्रणाली सुधार्ने, फोहोरमैला र ट्राफिक व्यवस्थापनको समस्या कसरी हल गर्ने भन्ने विषयमा प्रमुख र उपप्रमुखहरुले धारणा राख्नुभएको थियो ।
उपप्रधानमन्त्री सिंहले उपत्यकामा बग्ने नदीहरुलाई सफा राख्न तीनै तहका सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उपत्यकाका नदी प्रणाली स्वच्छ बनाउन ‘सेप्टिक ट्याङ्क’ अभियान चलाउनुपर्ने बताउनुभयो । उहाँले सेप्टिक ट्याङ्क बनाउने कार्यलाई उपत्यकामा अभियानकै रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
“उपत्यकामा बग्ने नदीहरुलाई स्वच्छ बनाउनुप¥यो । त्यसका लागि अहिले जुन दुर्गन्ध छ त्यसलाई हटाउन हामीले सेप्टिक ट्याङ्की बनाउने अभियानमा लाग्नैपर्छ । अब नयाँ बन्ने ठाउँमा सेप्टिक ट्याङ्क हरेक घरमा बनाउनुप¥यो । जहाँजहाँ घर बनिसके, ठाउँ छैन भने १०÷१५ घरको एक ठाउँमा भए पनि सेप्टिक ट्याङ्की बनाउनुपर्छ,” उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “उपत्यकामा जमिनमुनि पानीको तह घटिरहेको छ । त्यसलार्ई बढाउन ग्राउन्ड वाटर हार्भेस्टिङ र सेप्टिक ट्याङ्कको अभियान नै चलाउनैपर्छ । नत्र, नदी स्वच्छ हुँदैन, दुर्गन्ध हट्दैन ।” उहाँले उपत्यकालाई स्वच्छ, सफा र स्वस्थ राख्न तीनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उपप्रधानमन्त्री सिंहले आफूले सहरी विकास मन्त्रालय सम्हालेदेखि नै बाग्मती र धोबीखोलामा अर्बौं रुपैयाँ खर्च भए पनि योजना बनाउँदा किन कमजोरी भयो भनेर प्रश्न उठाइरहेका र त्यसलाई सच्याउँदै सिधै ढल मिसाउन नदिन आवश्यक काम अघि बढाएको बताउनुभयो ।
छलफलमा उपत्यकाका विभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरुले फोहोरमैला व्यवस्थापन, नदीको स्वच्छता र सफाइ, सहरी पूर्वाधारको विकासमा आउने बजेटमा सम्बोधन गर्नुपर्ने सुझाव दिए । उपप्रधानमन्त्री सिंहले उपत्यकालाई सुन्दर र बस्नयोग्य बनाउन पालिकाले गर्न सक्ने कामबारे कार्ययोजना पेस गर्न आग्रह गर्दै पालिकाबाट आएका सुझाव समेटेर बजेटमार्फत सम्बोधन गरी अघि बढ्ने बताउनुभयो ।