आइतबार, फागुन २५, २०८१

मकवानपुरमा नयाँ उद्योग दर्ता घट्दो, बन्द हुने क्रम बढ्दो


बागमती, २४ फागुनः मकवानपुरमा पछिल्लो तीन वर्षयता बर्सेनि उद्योग एवं व्यापारिक फर्म हुने क्रम बढ्दो छ ।

आर्थिक मन्दीका कारण आर्थिक वर्ष २०७८/७९ यता मकवानपुरमा निरन्तर उद्योग एवं व्यापारिक फर्म बन्द हुने क्रम बढ्दै गएको हो । चालु आव २०८१/८२ को सात महिनाको अवधिमा उद्योग र वाणिज्यतर्फका तीन सय छ वटा व्यापार बन्द भएका छन् । उद्योग तथा वाणिज्य कार्यायल मकवानपुरका अनुसार आव २०८१/८२ मा उद्योगतर्फ एक सय २७ र वाणिज्यतर्फका एक सय ७९ उद्योग व्यापारको लगतकट्टा गराएका छन् ।

अघिल्लो आव २०८०/८१ मा उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फका तीन सय ३६ गरी छ सय चार उद्योग व्यापार बन्द भएको थियो । यस्तै आव २०७९/८० मा मकवानपुरमा उद्योगतर्फ एक सय १० र वाणिज्यतर्फ एक सय ७३ गरी दुई सय ८३ उद्योग व्यापारको लगतकट्टा गरिएको थियो भने आव २०७८/७९ मा उद्योगतर्फ एक सय १८ र वाणिज्यतर्फ ७२ गरी एक सय ९० उद्योग व्यापारको लगतकट्टा गरिएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले जानकारी दिनुभयो ।

विश्वव्यापी रूपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव, युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढ्नु र स्थानीय तहमा पनि उद्योग दर्ता गराउनुपर्नेलगायतका कारणले उद्योग तथा वाणिज्यतर्फका उद्योग व्यापारको लगतकट्टा हुने सङ्ख्या बढ्ेको कार्यालय प्रमुख भुसालले बताउनुभयो ।

प्रमुख भुसालका अनुसार मकवानपुरमा बर्सेनि उद्योग व्यवसायको लगतकट्टा बढ्दै जाँदा नयाँ उद्योग व्यवसाय दर्ता भने घट्दै गएको छ । चालु आव २०८१/८२ को सात महिनामा नयाँ उद्योग र वाणिज्यतर्फ चार सय ३० नयाँ व्यवसायी दर्ता भएको छ । चालु आवमा उद्योगतर्फ दुई सय ५७ र वाणिज्यतर्फ एक सय ७३ गरी चार सय ३० नयाँ उद्योग व्यापार दर्ता भएको कार्यालय प्रमुख भुसालले बताउनुभयो ।

जबकी अघिल्लो आव २०८०/८१ मा उद्योगतर्फ तीन सय ६६ र वाणिज्यतर्फ तीन सय ३५ गरी सात सय एक नयाँ उद्योग व्यापार दर्ता भएको थियो । आव २०७९/८९ मा उद्योगतर्फ पाँच सय ७९ र वाणिज्यतर्फ चार सय ३० गरी एक हजार दुई सय ५२ उद्योग व्यापार दर्ता भएको थियो ।

चालु आव २०८१/८२ को सात महिनाको अवधिमा नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, लगतकट्टालगायतका शीर्षकबाट रू एक करोड ७० लाख ३२ हजार आठ सय पाँच राजस्व सङ्कलन भएको प्रमुख भुसालले बताउनुभयो ।

लामो समयदेखिको आर्थिक मन्दीका कारण हेटौँडामा सटरको भाडा तिर्न नसक्दा व्यापारी सम्पर्कविहीन हुने क्रम समेत बढ्दै गएका छन् । यसरी सम्पर्कविहीन हुनेमा धेरैजसो सहकारी, स्कुल, सुन पसल, किराना पसल, टेलरिङ, मदिरा पसललगायत चलाएर व्यापार व्यवसाय गर्ने रहेका छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ