भैरहवा, १९ फागुन : कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि भैरहवामा राष्ट्रियस्तरको दुई दिने प्रशिक्षण कार्यक्रम हुँदैछ। प्रशिक्षणका लागि देशभरका १६५ क्षेत्रीय सभापतिहरू यहाँ भेला भएका छन् । पहिलो दिन सोमबार सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने र प्रशिक्षणको उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रशिक्षणमा सहभागी हुन सभापति देउवा अहिले बिहान काठमाडौँबाट भैरहवा आउँदै छन् ।
नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख एवम् उपसभापति पूर्णबहादुर खड्काका अनुसार सोमबार र मंगलबार हुने प्रशिक्षणमा मुलुकभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापति समेत गरेर ३ सय ३० जनाभन्दा बढी नेता कार्यकर्ताहरू भैरहवा आएका छन् । प्रशिक्षणमा पार्टीलाई कसरी संस्थागत र बलियो बनाउने भन्ने विषयमा छलफल हुनेछ ।
प्रशिक्षणका लागि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि सोमबार आउँदै छन् । गृहमन्त्री रमेश लेखक पनि सोमबार नै भैरहवा आउने कार्यक्रम रहेको जनाइएको छ । नेता शेखर कोइराला र मिनेन्द्र रिजाल लगायत नेताहरू भने शनिवारदेखि नै रुपन्देहीमै छन् ।
उद्घाटनपछि कांग्रेसले अहिलेसम्म गरेका नीतिगत सुधार, भौतिक पूर्वाधार लगायत उपलब्धि, संविधान र मुलुकको विकासका लागि कांग्रेसले खेल्नुपर्ने भूमिका, आगामी महाधिवेशन, क्रियाशील सदस्य र आमनिर्वाचन गरी विभिन्न ६ वटा विषयमा प्रस्तुती रहनेछन् ।
त्यसक्रममा सहभागीहरूले पनि आफ्नो क्षेत्रका अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ । क्षेत्रीय सभापतिहरूले समेत वर्तमान सरकारका काम कारबाहीबारे आलोचनात्मक सुझाव दिने र सरकारमा सहभागी दुई जना मन्त्रीले त्यसको जवाफ दिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।