शनिबार, फागुन १०, २०८१

इटहरी गोल्डकपको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाडौँले जिते


धरान (सुनसरी) १० फागुनः पन्ध्रौँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेट इटहरी गोल्डकपको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाडौँले जितेको छ ।

आज उपाधिका लागि इटहरी रङ्गशालामा मोरङको सगरमाथा युथ क्लब र मच्छिन्द्र फुटबल क्लब काठमाडौँबीच भएको खेलमा सगरमाथा युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लबले उपाधि जितेको हो ।

मच्छिन्द्र क्लबका खेलाडी मल्लिक हिसुबले खेलको चौथो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने खेलको ८५औँ मिनेटमा ओमोलाजा नुरेन हरेनले गोल गरेका थिए त्यही गोल निर्णायक बन्न पुग्यो ।

यो उपाधिसँगै मच्छिन्द्र क्लबले रु १० लाख पुरस्कार र उपविजेता सगरमाथाले रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सगरमाथा युथ क्लबका कुलदीप कार्की घोषित भएका छन् । उनलाई नगद रु एक लाख पुरस्कार प्रदान गरिएको छ ।

आजको खेलको ‘म्यान अफ दी म्याच’ सगरमाथा युथ क्लबका कप्तान अशोक खवास घोषित हुँदै नगद रु १० हजार पुरस्कार प्राप्त गरेका छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ