९ फागुन, काठमाडौं : फिल्म ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले नयाँपुस्ताको होस्टेल र कलेज लाइफलाई चित्रण गर्छ ।
३ मिनेट रनटाइमको ट्रेलरमा कलाकारको बाक्लो उपस्थिती छ । टिकटकर पारस बम ‘कूल ब्वाय’, सिम्रन पन्त, केदार घिमिरे ‘माग्ने बुढा’का छोरा आशिष, ‘भ्वाइस अफ नेपाल’ फेम्ड गायक रिहान गिरी, पदम तामाङ, समा पराजुली, हेना नगरकोटीलाई ट्रेलरमा चित्रण गरिएको छ ।
प्रवीण खतिवडा वार्डेनको रोलमा छन् । आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँको पनि अभिनय छ । सशान कँडेल ‘सन्तोष’को अभिनय रहेको फिल्मलाई सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रालिले निर्माण गरेका हुन् । ‘होस्टेल’ को अघिल्लो श्रृंखलाबाट अनमोल केसी, सलोन बस्नेत, स्वस्तिमा खड्का, नाजिर हुसेन लगायत दर्जनौँ कलाकार उदाएका थिए । अब, ‘होस्टेल ३’ ले पनि नयाँ कलाकारलाई स्थापित गर्ने सङ्केत गरेको छ ।
निर्देशक कँडेलको यो डेब्यु निर्देशकीय फिल्म हो, जो दुई दशकदेखि सङ्गीत र म्युजिक भिडियो निर्देशनमा सक्रिय छन् । माधव शर्माले लेखन तथा एसोसियट निर्देशनको जिम्मेवारी सम्हालेका छन् । निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन् । कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।
‘होस्टेल ३’ फागुन २३ मा रिलिज हुनेछ ।