काठमाडौँ, ८ फागुनः भीमसेन लामा निर्देशित फिल्म ‘कामा’ मार्च ७ मा बेलायतमा रिलिज हुने भएको छ । एक्सन-थ्रीलर फिल्म उक्त मितिमा २६० पर्दाबाट रिलिज हुने जनाइएको छ ।
बेलायतका बिभिन्न स्थानमा खिचिएको फिल्मले बदलाको लागि मान्छे कुन हदसम्म पुग्छ भन्ने चित्रण गरेको छ । फिल्ममा म्याट वेक फोर्डनट, जेमिमा टोम्स, मिया बेनेट, साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताका साथमा नेपाली अभिनेता टंक धमला मुख्य भूमिकामा छन् ।
विक्रम जोशी कार्यकारी निर्माता, हिराल जोशी निर्माता, एमजी अमीन र ईश्वर श्रेष्ठ सहनिर्माता रहेको फिल्मको कथा विशारद बस्नेतले लेखेका हुन् । पटकथा हिराल जोशी, विक्रम जोशी र लक्ष्मण सुवेदीले लेखेका हुन् ।
अन्तराष्ट्रिय बजारलाई लक्षित गरि निर्माण गरिएको फिल्मले इटालीमा सम्पन्न मिलन विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत पुरस्कार जितेको छ । निर्माता जोशीले यसअघि ‘पासवर्ड’, ‘ह्याप्पी डेज’, ‘हेलो जिन्दगी’ र ‘द सिक्रेट अफ राधा’ फिल्म निर्माण गरेका छन् । फिल्मलाई चाँडै अमेरिका, अस्ट्रेलिया, क्यानडासहित हिन्दीमा भारत र नेपाली भाषामा नेपालका हलमा प्रदर्शन हुने जनाइएको छ ।