काठमाडौँ, ७ फागुन (रासस): नेपालमा राजतन्त्रको अन्त्य भई लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १६ वर्ष भएको छ । राजनीतिक आरोहअवरोहको सङ्क्रमणकालको यो अवधिमा २०६४ र २०७० सालमा दुईपटक संविधानसभाको निर्वाचन र त्यसपछि दुईपटक २०७४ र २०७९ सालमा सङ्घीय, प्रदेश र स्थानीय तहको आवधिक निर्वाचन भइसकेको छ । यसबाहेक २०७२ सालको भूकम्प र नाकाबन्दी तथा सन् २०१९ बाट फैलिएको विश्वव्यापी कोभिड महामारीजस्ता नेपाली समाजको मनमस्तिष्कलाई वर्षौंसम्म हल्लाइरहने परिघटना व्यहोरेको नेपालले विषमताबीच आवधिक चुनाव गराएर शासनमा जनताको प्रतिनिधित्वलाई स्थापित गराएको थियो ।
लोकतान्त्रिक शासन व्यवस्थाको सुन्दर पक्ष भनेकै जनताले चुनेका जनप्रतिनिधिले देश र जनताप्रति उत्तरदायी भई शासन व्यवस्था सञ्चालन गर्ने हो । देशको कमजोर अर्थतन्त्र, भौगोलिक विकटता, कर्मचारी प्रशासन र जातीय विविधतालाई सन्तुलनमा ल्याएर विकास निर्माणका काम गर्नु आफैँमा एक चुनौतीपूर्ण कार्य हो ।
राष्ट्र र राष्ट्रियता भनेको जमिन मात्रै होइन, जमिनको सीमाभित्र बसोबास गर्ने नागरिकबीचको आपसी एकता र सद्भाव पनि हो । एकता र सद्भाव स्थापित गर्न त्यहाँ बसोबास गर्ने विभिन्न भौगोलिक, जातीय, भाषिक, धार्मिक र सांस्कृतिक समुदायको संस्कृति, धार्मिकस्थल, वेशभूषा, चाडपर्व, नाचगान, जात्रा आदिले महत्वपूर्ण भूमिका निभाएको हुन्छ । भाषा, संस्कृति, रीतिरिवाज, भाषा, मठमन्दिर र धार्मिकस्थल आफैँमा एक विशाल अनुसन्धान केन्द्र हुन् । देशभरि छरिएर रहेका शक्तिपीठहरु देशका गहना हुन् । समृद्ध नेपाल बनाउन यी विषयको छुट्टै महत्व रहेको छ । विविधतामा एकता नै आधुनिक नेपालको राष्ट्रियता हो । हिमाल पहाड र तराई होस या पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका भाषा, धर्म, संस्कृति, रहनसहन, रीतिरिवाज नेपाल र नेपालीको वास्तविक पहिचान हुन् । यी पहिचानको जगेर्ना गर्न र प्रचारप्रसार गरी राष्ट्रियतालाई बलियो बनाउन राससले सशक्त भूमिका निभाउनुपर्दछ ।
मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछिका १६ वर्षमा राजनीतिक स्थायित्वसँगै हरेक सरकारले सीमित स्रोत, साधन र प्रविधिका बीच नागरिकका आशा र अपेक्षालाई अधिकतम सम्बोधन गर्न भरमग्दूर प्रयत्न गरिरहेका छन् । यसबीचमा गठन भएका सङ्घ, प्रदेश र स्थानीय सरकारहरुले पनि सडक, पुल, जलविद्युत्, सञ्चारजस्ता पूर्वाधारको विकासलाई तीब्रता दिएका छन् । आमजनताले सहज रुपमा सेवा प्राप्त गर्ने वातावरण निर्माण भइरहेको छ । संविधानले परिलक्षित गरेको समतामूलक समाज निर्माणका लागि देखिने गरी काम भइरहेका छन् ।
यस्ता महत्वपूर्ण कार्य र उपलब्धिलाई जनतामाझ स्थापित गर्न नसकिएको बुझाई रहेको छ । बेलाबखत उत्पन्न हुने अवरोधले जनअपेक्षा अनुकूलको बेगमा काम हुन नसक्नु स्वाभाविक पनि हो । यो वस्तुतथ्यलाई नजरअन्दाज गरेर देशमा केही भएन भन्ने जस्तो गरी नकारात्मक भाष्य सिर्जना गरी राजनीतिक तहमा प्राप्त सबै उपलब्धिलाई नकार्ने र जनतालाई दिग्भ्रमित तुल्याउने ढङ्गबाट सामाजिक सञ्जाल र अन्य मिडियाको प्रयोग बढ्नु चिन्ताजनक छ ।
जर्मनीका विश्व विख्यात तानाशाह भनेर चिनिने एडोल्फ हिटलरका अर्थमन्त्री गोयबल्सको प्रचारशैलीअनुसार “कुनै पनि झुटो कुरालाई सय वा हजार पटकसम्म सत्य हो भनेर भनिरहन सकियो भने सबैजसो मान्छेले विश्वास गरेर पत्याउनेछन् ।” गोयबल्सले यसै सिद्धान्तका आधारमा संसारलाई ढाँटेरै तर झुटो कुरो भए पनि पत्याउन बाध्य पार्ने र धेरै शक्ति सञ्चय गर्न सकेका थिए । यही प्रचारशैली नेपालमा पनि बेलामौकामा अनुशरण गर्ने प्रयास भइरहेका छन् । यस्तो कार्यले नागरिकहरु निरास बन्ने, देशको शासन व्यवस्थालाई असफल हुने र राष्ट्रिय एकता र सद्भावलाई बिथोलिने गर्दछ । त्यसैले मुलुकमा भएको विकास र प्रगतिका विषयमा नागरिकलाई सही र सत्य कुराको जानकारी गराउनु पनि रासस जस्तो राज्यको समाचार एजेन्सीको मुख्य दायित्व हुन आउँछ । त्यो कार्य राससले गरेको छ र निरन्तर गरिरहने छ ।
विसं २०१८ फागुन ७ गते स्थापना भएको राससले सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषणमा अग्रणी भूमिका निर्वाह गरिरहेको छ । राससले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, तस्बिर र भिडियो सामग्री प्रवाह गरिरहेको छ । आफ्ना नियमित कार्यबाहेक राससले राज्य र सरकारलाई सहयोग पुग्ने रचनात्मक कार्यहरु गरिआएको छ । यही रचनात्मक कार्यको एउटा उपलब्धिका रुपमा ‘रासस फोटो किताब : गणतन्त्रको १६ वर्ष’ पुस्तक पनि हो । सञ्चार विज्ञहरुको भनाइअनुसार ‘एक तस्बिरले एक हजार शब्दको अर्थ दिन्छ ।’ यी भनाईले मिडियामा तस्बिरको महत्व कति धेरै छ भनेर इङ्गित गर्छ । समाचारलाई पाठक/दर्शक/स्रोतासामु पु¥याउने कार्य अब ‘अक्षर’ वा ‘शब्द’मा मात्र सीमित छैन । छापा माध्यम हुँदै विद्युतीय माध्यमका श्रव्य, श्रव्यदृश्य र अनलाइन, मोबाइल जर्नालिज्म, पोडकास्टसम्मले समाचार सामग्री सम्प्रेषण गर्दा र पत्रकार समाचार कर्र्म गर्दा तस्बिरलाई छुटाउनै नमिल्ने विधाका रुपमा लिइन्छ । सञ्चारमाध्यममा छापिने तस्बिरले बर्साैँदेखि नै समाचारकै प्रमुख अङ्ग बनेर सूचना प्रवाह गरिरहेको छ । यो तथ्यलाई रासस फोटो किताबले थप स्थापित गर्छ भन्ने हाम्रो विश्वास हो ।
राससले गणतन्त्र दिवस–२०८० को सन्दर्भमा ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ र गणतन्त्र दिवस– २०८१ को सन्दर्भमा ‘गणतन्त्रको उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेर राज्य र सरकारले गरेका कामहरुलाई जनतासमक्ष उजागर गर्ने जमर्को गरेको थियो । रासस परिसरमा आयोजित यी तस्बिर प्रदर्शनीको अवलोकनका लागि राष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, समाजसेवी, राजनीतिकर्मी, समाजका गण्यमान्य व्यक्तिहरु, विद्यार्थीलगायत सहभागी हुनुभएको थियो । उहाँहरुले तस्बिर प्रदर्शनीको अवलोकनपश्चात् रासससँग प्रतिक्रिया दिँदै यी तस्बिरलाई पुस्तकाकार रुपमा प्रकाशन गर्न पनि सुझाव दिनुभएको थियो । यही सुझावलाई कार्यन्वयन गरेर रासस फोटो किताब प्रकाशित भएको हो ।
दुई खण्डमा विभाजित यस फोटो किताबको पहिलो खण्डमा ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ शीर्षकमा तस्बिरहरु सङ्ग्रहित छन् । नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो । यो साझा फूलबारीमा अनेक जाति, परम्परा र संस्कृति छन् जसले नेपाललाई विश्वभर चिनाउन अहम् भूमिका खेलेका छन् । पुस्तकमा राससका सहकर्मीहरुले कैद गरेका केही प्रतिनिधिमुलक तस्बिरहरु सङ्ग्रह गरिएका छन् । हामीले स्वीकार्नै पर्दछ, अझै कैयौं जाति, परम्परा, संस्कृति र प्रचलनका तस्बिरहरु यहाँ समेट्न सकिएको छैन । दोस्रो खण्डमा गणतन्त्र दिवस–२०८१ को सन्दर्भमा ‘गणतन्त्रको उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा गरिएको प्रदर्शनीका तस्बिरहरु समावेश छन् । नेपालमा पछिल्ला १६ वर्षमा भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा निकै प्रगति भएको छ । सीमित स्रोतसाधन, प्रविधि र जनशक्तिकै बीचमा नेपालले केही गर्व गर्न लायक विकास प्रयास गरेको छ । सडक सञ्जाल विस्तार, पुल, अस्पताल, जलविद्युत्, पर्यटन, बिमानस्थल, सिँचाइ नहर, सुरुङमार्ग निर्माणजस्ता पूर्वाधारका क्षेत्रमा काम भइरहेका छन् । केही परियोजनाका काम सम्पन्न भइसकेका छन् भने केही परियोजनामा धमाधम काम भइरहेको छ । यी विषयलाई आमसमुदायमा पु¥याउने र देशमा परिवर्तन भइरहेको छ भनेर आशा जगाउने कार्य यो पुस्तकले गर्नेछ भन्ने हामीलाई लागेको छ ।
अहिलेको प्रविधिगत चुनौती र अवसरका बीच आगामी दिनमा राससको फोटो अर्काइभ व्यवस्थित गर्न, तस्बिरसम्बन्धी प्राविधिक जनशक्तिलाई नयाँ-नयाँ विषयका तालिम र अत्याधुनिक तस्बिर उपकरण उपलब्ध गराउन र तस्बिर सेवालाई गुणस्तरीय, विश्वसनीय र विविधीकरण गर्ने प्रयास जारी छ । यो किताबले राससका फोटो पत्रकारका भूमिकालाई चिरस्थायी बनाउन र नेपाली पत्रकारितामा राससको तस्बिरको योगदानलाई संस्थागत गर्ने प्रयत्न गरिएको छ । पुस्तकमा राससकर्मीहरुले कैद गरेर राससको बुलेटिनमा प्रकाशित भएका तस्बिरहरु र अतिआवश्यक तर रासससँग नभएका केही तस्बिरहरुलाई सौजन्यको रुपमा सङ्ग्रह गरिएका छन् । सकेसम्म महत्वपूर्ण तस्बिरहरुलाई समेट्ने प्रयास गरेका छौँ । तर पनि पूर्वाधारका क्षेत्रमा भएका उपलब्धिका धेरै तस्बिरहरु यहाँ समावेश छैनन् । तर यो पुस्तक एक प्रस्थानविन्दु मात्र हो । आगमी दिनमा राससका व्यवस्थापनले बाँकी कार्यभारलाई कार्ययोजना बनाएर पूरा गर्नेछ ।
– सिद्धराज राई
(लेखक राससका महाप्रबन्धक हुनुहुन्छ)