काठमाडौँ, १ फागुनः पल शाह, दीपिका प्रसाईं स्टारर रोमान्टिक ड्रामा ‘मायावी’को ट्रेलर सार्वजनिक भएको छ । विहिबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ । ३ मिनेट लामो ट्रेलरको केन्द्रमा प्रेम र त्यागको कथा छ । पोखराको परिवेशमा खिचिएको फिल्म पल र दीपिकाको प्रेम वरपर घुमेको छ । प्रेममा परेको जोडीको बीचमा आउने अवरोधको कथा यसमा छ ।
दिवाकर भट्टराई निर्देशित फिल्मको ट्रेलरले ‘भ्यालेन्टाइन्स डे‘ को मुड जगाउने पक्का छ । लभस्टोरी जनराका फिल्मको निर्माणमा कमी आइरहेको बेला ‘मायावी’ ले दर्शकमाझ त्यो रिक्तता पूर्ति गर्ने आशा निर्देशकले व्यक्त गरे ।
फिल्ममा प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, समिम खान, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौड्याल, रवि डंगोल लगायतको अभिनय छ । फिल्मको कथा, पटकथा र निर्देशक दिवाकरकै छ ।
क्रिएटिभ सिने आर्ट्स प्रालिको ब्यानरमा फिल्मको निर्माण ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तले लगानी गरेका हुन् । प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा मञ्जु भण्डारी, राजु पराजुली र सुमित वली सहनिर्माताको रुपमा छन् । ‘मायावी’ फागुन १४ गते प्रदर्शन तयारीमा छ ।