शुक्रबार, फागुन ०९, २०८१

अस्ट्रेलियामा ‘डीपसीक’ एआईको प्रयोगमा पूर्ण प्रतिबन्ध


काठमाडौँ, २३ माघ : अस्ट्रेलियाले सबै सरकारी कार्यालयका डिभाइस र प्रणालीहरूमा डीपसीकको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । यस चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिले राष्ट्रिय सुरक्षा जोखिम निम्त्याएको भन्दै अस्ट्रेलियाले एपमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

दुई हप्ताअघि मात्रै सार्वजनिक भएर रातारात विश्वभर चर्चित बनेको डीपसीक अस्ट्रेलियाको सरकारी कार्यालयमा चलाउन नपाउने गरी त्यहाँको गृह मन्त्रालयले निर्देशन जारी गरेको हो । यसले अस्विकार्य राष्ट्रिय जोखिम निम्याउने खतरा रहेकोबारे आफ्ना गुप्तचर निकायले सल्लाह दिएको भन्दै मन्त्रालयले प्रतिबन्धको घोषणा गरेको हो ।

द गार्जियनका अनुसार गृहमन्त्री टोनी बुर्कले यो एप चिनियाँ मूलको भएर प्रतिबन्ध नगरिएको उल्लेख गर्दै सरकार र सरकारी सम्पत्तीमाथि यसले पुर्‍याउन सक्ने जोखिका कारण प्रतिबन्ध गरिएको बताएका छन् । ‘अस्ट्रेलियाको राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितका लागि अल्बानिजि सरकारले द्रुत र निर्णायक कदम चालिरहेको छ,’ बुर्कले भनेका छन्, ‘एआई प्रविधि सम्भावना र अवसरले भरिपूर्ण छ । तर हाम्रा निकायले राष्ट्रिय सुरक्षा जोखिम पहिचान गरेमा यसविरुद्ध कदम चाल्न सरकार हिचकिचाउँदैन ।

सरकारी कार्यालयहरूले कुनै पनि डिभाइसमा डीपसीक एप चलेको छैन वा इन्स्टल गरिएको छैन र आगामी दिनमा इन्स्टल गर्न नमिल्ने सुनिश्चितता गर्दै गृह मन्त्रालयलाई यथाशिघ्र प्रतिवेदन पेश गर्नुपर्ने निर्देशन दिइएको छ ।अल्बानिजि सरकारले दुई वर्षअघि अर्को चर्चित चिनियाँ एप टिकटकमाथि पनि सुरक्षा र गोपनीयता जोखिम उल्लेख गर्दे राष्ट्रव्यापी प्रतिबन्धको घोषणा गरेको थियो ।

चिनियाँ एआई स्टार्टअप कम्पनी डीपसीकको आगमनपछि अन्तर्राष्ट्रिय स्टक बजारहरू प्रभावित भएका थिए । एनभिडिया, मेटा जस्ता अमेरिकी प्रविधि कम्पनीहरूले एकै दिनमा आफ्नो बजार मूल्यको ठूलो हिस्सा गुमाएको खबर सार्वजनिक भएका थिए । अस्ट्रेलियामा पनि चिप निर्माता ब्रेनचिप जस्ता एआईसँग जोडिएको स्टकहरूको मूल्यमा गिरावट आएको थियो ।