आइतबार, माघ २०, २०८१

पोखरा बडहरेस्थित सिद्ध गणेशको शिला बर्सेनि बढिरहेको जनविश्वास


गण्डकी, २० माघः पोखरा महानगरपालिका–३२ बडहरेस्थित सिद्ध गणेशको शिला मूर्ति बर्सेनि बढ्दै गएको छ । करिब एक सय वर्षअघि जोत्ने क्रममा उक्त शिला फेला परेको थियो ।

किंबदन्तीअनुुसार जोत्ने क्रममा हलोको फालीले उक्त शिलाको केही भाग चोइटिएर फुटेको स्थानीय बताउँछन् । जोत्न प्रयोग गरिएका हलगोरु मरेपछि सोबारे खोजी गर्दा उक्त शिला गणेशको मूर्ति फेला परेपछि हाल मन्दिर भएकोे ठाउँमा राखिएको स्थानीयवासी बताउँछन् । फाली लागेर चोइटिएको भाग अहिले पनि प्रत्यक्ष देख्न सकिन्छ ।

सुरुमा एक बित्ता लम्बाइको उक्त शिला बर्सेनि बढ्दै गएर अहिले झण्डै एक हात भन्दामाथि पुगिसकेको हाल मन्दिरमा नियमित पूजा गर्दै आउनुुभएकी देवी पराजुलीले जानकारी दिनुुभयो । सुरुमा उक्त स्थानमा सामान्य ढुङ्गाले बारबेरगरी छपनीले छोपेर राखिएको सिद्ध गणेशको मूर्ति पछि व्यवस्थित मन्दिरका रूपमा व्यवस्थित गरिएको उहाँले बताउनुभयो । त्यसयता अत्यन्त आस्था एवं विश्वासका साथ यहाँ पूजाआजा हुँदै आएको छ ।

यहाँस्थित सिद्ध गणेशको शिला रहस्यात्मक रूपमा बढिइरहेको प्रत्यक्ष अनुभव गरेको ८५ वर्षीय काशीनाथ पण्डितले बताउनुभयो । “म सानोमा मामाघर जाने क्रममा उक्त मन्दिर भएर धेरै पटक ओहोरदोहोर गरेको छु”, उहाँले बाल्यकालको अनुभव सुनाउँदै भन्नुुभयो, “पाँच/छ वर्षको उमेरमा मैले देखेको गणेश शिला अहिले धेरै ठूलो भएका अनुुभव छ ।

अहिलेको व्यवस्थित मन्दिर बनाउने क्रममा उक्त शिलाको केही भाग ढलानबाटसमेत पुरिएको जानकारी दिँदै उहाँले ढलानमाथि करिब एक हात लम्बाइमा शिला रहेको बताउनुुभयो । बडहरेबाट बढ्दो बसाइँसराइका कारण रहस्यात्मक यस तीर्थस्थलको प्रचारप्रसार हुन नसकेको उल्लेख गर्दै पण्डितले यो तीर्थस्थल प्रवर्द्धनको पर्खाइमा रहेको बताउनुुभयो । यस मन्दिर परिसरमा २०१८ सालमा धनधान्याञ्चल पर्व गरिएको उहाँले उल्लेख गर्नुभयो ।

पछिल्लो पुस्ताका मानिसले पनि उक्त शिला बढिइरहेको अनुभव गरिरहेको बताउँछन् । शिलाको आकार बढ्दै गएको प्रत्यक्ष अनुभव गरेको विनिता पण्डित घिमिरेले बताउनुभयो । आँफूले बाल्यकालमा सानो आकारमा देखेको शिला मूर्ति अहिले धेरै ठूलो भइसकेको उहाँको अनुभव छ । उहाँले भन्नुुभयो, “हामीले यस शिलालाई प्रत्यक्ष भगवानका स्वरुपमा पूजाआजा गर्दै आएका छौंँ ।

पहिला वरिपरि सामान्य ढुङ्गा लगाएर घेरिनुका साथै माथि ढुङ्गाले छाइएको यस मन्दिरलाई पछिल्ला १० वर्षयता व्यवस्थित गरिएको घिमिरेले जानकारी दिनुभयो । यहाँ दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासका साथ बडहरे र आसपासका सर्वसाधारणले श्रद्धाभक्तिपूर्वक पूजाआजा गर्ने गरेका उहाँले सुनाउनुभयो ।

घिमिरेका अनुसार विशेष गरी हरितालीका तीज पछिको चौँथीका दिनमा गणेश भगवान्को जन्मदिनका रूपमा मानिएको गणेश चतुर्थीमा यहाँ धुमधामसँग पूजाआजा हुने गरेको छ । उहाँले राजमार्गबाट नजिकै रहेर पनि यो तीर्थस्थल प्रचारप्रसारको अभाव हुँदा ओझेलमा परिरहेको बताउनुुभयो ।

पृथ्वीराजमार्गअन्तर्गत गगनगौंँडा क्षेत्रबाट सवारीसाधनमा करिब २५ मिनेटको यात्रा गरेपछि यो मन्दिर पुग्न सकिन्छ । गगनगौँडाबाट राजाको चौतारा पुगी त्यहाँबाट तालखोलाको पुल तरेपछि मणि हुँदै बडहरेको सिद्धि गणेश मन्दिर पुग्न सकिने स्थानीय घिमिरेले जानकारी दिनुुभयो । करिब तीन दशक अघिसम्म बाक्लो बस्ती रहेको बडहरेमा त्यसयता भने बढ्दो बसाइँसराइले बस्ती शून्य हुँदै गएको उहाँले बताउनुुभयो ।

उत्तरतर्फ सुन्दर हिमालको दृश्यसँगै अगाडि देखिने मनोरम तालतलैया एवं पोखरा उपत्यका अवलोकन गर्न सकिने यो ठाउँ बढ्दो बसाइँसराइले प्रत्यक्ष प्रभावित बनेको उहाँले बताउनुुभयो । बाटो, यातायात लगायत सुविधा गाउँमा पुगिसकेका अवस्थामा यहाँको प्रचारप्रसार गरी धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading