बिहिबार, माघ १७, २०८१

समाजवादी मोर्चाले काठमाडौंमा चैत २४ गते जनप्रदर्शन गर्ने


काठमाडौँ, १६ माघः  समाजवादी मोर्चाले चैत २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । बुधबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको केन्द्रीय संयोजन समितिको दशौं बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले चैत पहिलो हप्ता मधेशमा जन प्रदर्शनसहितको कार्यक्रम गर्ने निर्णय भएको पनि नेकपाका नेता खड्गबहादुर विश्वकर्माले बताए । उनका अनुसार समाजवादी मोर्चाले फागुन अन्तिमसम्म समाजवादी मोर्चाको बारेमा जानकारी गराउने उद्देश्यले समाजवादी मोर्चा प्रकाशन गर्ने निर्णय भएको छ ।  त्यस्तै समाजवादी मोर्चामा मोहनविक्रम सिंहको पार्टी र अन्य पार्टीलाई भित्र्याउन छलफल अघि बढाउने निर्णय भएको उनले बताए । बैठकले वर्तमान सरकार गणतन्त्रविरोधी देखिएकोसमेत निष्कर्ष निकालेको छ ।

बैठकले समाजवादी मोर्चालाई सुदृढ बनाउने, मधेश प्रदेशमा मोर्चामा सहभागी चार वटै राजनीतिक दलहरुलाई समाजवादी मोर्चा पुनःगठन गर्ने जिम्मा दिने र देशभर मोर्चा गठन गर्न बाँकी भएका ठाउँमा नेपाल समाजवादी पार्टीलाई संलग्न गरेर समाजवादी मोर्चा गठन गर्ने निर्णय गरेको छ ।

बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग सरकारले गरेको सहमति, चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीसँग सरकारले गरेको सहमति र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न दबाब दिने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading