काठमाडौँ, १४ माघ : ‘वर्डक्याम्प काठमाडौं’को नयाँ संस्करण अप्रिल ४ र ५ मा आयोजना हुने भएको छ। आइटी क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल वर्डप्रेस कम्युनिटीले उक्त कार्यक्रम काठमाडौंको चण्डोलस्थित कुण्डलिनी दरबारमा आयोजना गर्न लागेको हो।
वर्डप्रेस तथा सूचना प्रविधिमा रुचि राख्ने नयाँ र अनुभवी दुवैका लागि यो कार्यक्रम ठूलो अवसर हुने आयोजकको दाबी छ। कार्यक्रममा वर्डप्रेससँग सम्बन्धित नयाँ जानकारी र प्रविधिको विकासबारे थाहा पाउन, नेटवर्क निर्माण र नयाँ अवसरहरूको खोजीकार्यमा पनि मद्दत गर्ने आयोजकको भनाइ छ।
कार्यक्रममा वर्डप्रेससम्बन्धी नयाँ जानकारी, प्लगइन र उत्पादनहरूका प्रदर्शन र विभिन्न कार्यशालाहरूको आयोजना पनि हुनेछ। ‘पहिलो दिन वर्डप्रेसको ओपन-सोर्स प्रोजेक्टमा सहभागी हुने अवसर प्रदान गरिनेछ। सहभागीहरूले वर्डप्रेसमा आफ्नो रुची रहेको क्षेत्रमा योगदान गर्न, नयाँ कुरा सिक्न र समुदायसँग जोडिन सक्नेछन्। यो दिन टिम लीडरले वर्डप्रेसमा थिम र प्लगइन अनुमोदन प्रक्रिया, यसको मापदण्डहरू र दिशानिर्देशहरूबारे मार्गदर्शन गर्नेछन्। यस दिन वर्डप्रेस प्रोजेक्टमा प्रोग्रामर र गैर प्रोग्रामर दुवै खालको योगदानहरु कसरी गर्न सकिन्छ भन्ने बारे सिक्न र बुझ्न सकिन्छ,’ नेपाल वर्डप्रेस कम्युनिटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कार्यक्रममा डेभलपर, प्लगइन र थिम निर्माता, डिजाइनर, सर्च-इन्जीन विशेषज्ञ, व्यवसाय सञ्चालक, कन्टेन्ट क्रिएटर र विद्यार्थीहरू सहभागी हुने आयोजकले जनाएको छ। कार्यक्रममा भारत, बंगलादेश अमेरिका, युरोपेली मुलुकलगायतबाट विज्ञहरू सहभागी हुनेछन्।
आर्टिफिसियल इन्टेलिजेन्सको अत्याधुनिक विकासदेखि व्यावहारिक वेव डेभलपमेन्ट प्रविधिहरू, सामग्री सिर्जना (कन्टेन्ट क्रिएट) रणनीतिहरू प्रयोगकर्ता-केन्द्रित डिजाइन सिद्धान्तहरू, सर्च इन्जिन अप्टिमाइजेसनदेखि ई-कमर्ससम्बन्धी सत्रसमेत सञ्चालन हुने आयोजकले बताएको छ।