काठमाडौँ, ११ माघ : नेपाली ललितकला क्षेत्रका कलाकारले विश्व जलरङ (वल्र्ड वाटर कलर) दिवस क्यान्भासमा जलरङबाट दृश्य उतारेर मनाएका छन् ।
काठमाडौँमा रहेका कलाकारले शङ्खमूलमा दृश्यचित्र सृजना गरी दिवस मनाएका हुन् । यस्तै, नवलपुरको गैँडाकोट, कास्कीको पोखरा र धरानका कलाकारले समूहगत रूपमा जलरङमार्फत कला सृजना गरी दिवस मनाएका छन् ।
अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजनामा दिवसका सन्दर्भमा आज कलाकारले कला कार्यशाला नै आयोजना गरेर दिवस मनाइएको समाजका सदस्य डिबी राईले जानकारी दिनुभयो । काठमाडौँको शङ्खमूलमा आयोजना भएको कार्यशालामा कलाकारले विभिन्न विषयवस्तु र शैलीमा चित्र कोरेका थिए । उक्त कार्यक्रममा २६ जना कलाकारको सहभागिता थियो ।
कलाकार राईले शङ्खमूलको मौलिक घरलाई जलरङमार्फत क्यानभास सजाउनुभयो । यस्तै दीपेन्द्रमान बनेपालीले यहाँको दृश्यचित्र बनाउनुभयो । कार्यक्रममा वरिष्ठ कलाकार श्यामलाल श्रेष्ठ र गौतमरत्न तुलाधरले जलरङमा आफूले कुचि चलाउँदा गरेको सङ्घर्षका बारेमा जानकारी दिँदै जलरङका गतिविधि नेपालमा बढाउँदै लगेकामा समाजलाई धन्यावाद दिनुभयो ।
धरानमा आज कलाकार महेन्द्र राई, नवलपुरको गैँडाकोटमा प्रकाश थापा र पोखरामा मनोज तामाङको नेतृत्वमा कला सृजना गरी दिवस मनाइएको राईले जानकारी दिनुभयो । उक्त दिवस हरेक वर्ष जनवरी २३ तारिखमा विश्वका विभिन्न देशमा एकैसाथ मनाउने गरिन्छ ।
यसअघि पनि समाजको संयोजनमा कलाकारहरूले विभिन्न कार्यक्रम गर्दै आएका छन् । कलाकारले ठाउँठाउँमा पुगेर सामूहिक रूपमा कला कार्यशाला र प्रदर्शनी गर्ने गरेका छन् । समाजले नेपालमा हरेक दुई–दुई वर्षमा जलरङ महोत्सव नै आयोजना गर्दै आएको छ ।
शङ्खमूलको कार्यक्रममा सहभागी अर्का कलाकार दीपेन्द्रमान बनेपालीले जलरङको महत्त्वलाई जीवित बनाइराख्न दिवस मनाउने गरिएको बताउनुभयो । जलरङ कला सृजनाको सुरुआती चरणमा जुनसुकै कलाकारले प्रयोग गर्ने विधा हो । पारदर्शी भएकाले कला सृजनाले मिठास भर्छ । आर्ट सिक्दादेखि नै जलरङ प्रयोग हुने भएकाले पनि यसको महत्व रहेको छ । तर पछिल्लो समयमा सिकिसकेपछि भने कलाकारले यो विधा छाड्न गरेको बताइन्छ ।
कार्यक्रममा उपत्यकाका कलाकार डिबी राई, दीपेन्द्रमान बनेपाली, दिराम पाल्पाली, सुरेश श्रेष्ठ, दिवेश प्रधान, केशवराज खनाल, प्रकाश मानन्धर, राधेश्याम कर्माचार्य लगायत कलाकारको सहभागिता थियो ।