काठमाडौँ, ७ माघ : निर्माण तयारीमा रहेको फिल्म ‘माइतीघर’मा अभिनेता धीरज मगर अनुबन्धित भएका छन् । निर्माता रोहित अधिकारी र अभिनेता मगरबीच सोमबार लिखित सम्झौता भएको छ । योसँगै फिल्ममा मुख्य कलाकारको लाइनअपले पूर्णता पाएको छ । यसअघि यो फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, उपासनासिंह ठकुरी र दिकिला शेर्पा अनुबन्धित भैसकेका छन् ।
निर्माता अधिकारीले धीरजको इन्ट्रीसँगै कलाकारको लाइनअपले पूर्णता पाएको बताए । मिलन तामाङले निर्देशन गर्ने यो फिल्मको छायांकन चैत अन्त्यदेखि थाल्ने तयारी छ । रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको प्रदर्शन आगामी दशैंको फूलपातिमा घोषणा गरिएको छ ।
फिल्मको निर्मातामा रविन शेरचन र धीरज तामाङ छन् । कथा चन्द्रकुमार दोङको हो । कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र नीरज कटुवाल छन् । छायांकन सुसन प्रजापति, पटकथा र संवाद रामशरण पाठकको हुनेछ ।