काठमाडौँ, ६ माघः प्यालेस्टिनी समूह हमासले रिहा गर्ने बन्धकहरूको सूची दिएसँगै गाजामा युद्धविराम लागू भएको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै स्थानीय समयअनुसार बिहान ११:१५ बजेदेखि युद्धविराम लागू भएको जनाएको हो ।
हमास र इजरायलबीचको युद्धविराम स्थानीय समय अनुसार आइतबार बिहान ८:३० बजेदेखि लागू हुने बताइएको थियो । तर हमासले रिहा गरिने बन्धकहरूको सूची उपलब्ध गराउन ढिलाई गरेकाले तोकिएको समयभन्दा ढिलो युद्धविराम लागू भएको हो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले सूची उपलब्ध नगराएकाले युद्धविराम लागू हुन ढिलाई भएको बताएका थिए । लगत्तै हमासले ‘प्राविधिक कारण’ले ढिलाई भएको भन्दै बन्धकहरूको नाम उपलब्ध गराएको थियो । युद्धविराम सम्झौतामा योजनाबद्ध रूपमा बन्दीहरूको आदानप्रदान हुनुभन्दा कम्तीमा २४ घण्टा अघि नाम उपलब्ध गराउने उल्लेख छ ।
हमासले गाजा क्षेत्रको युद्धविराममा ढिलाई गरेको भन्दै इजरायलले आइतबार बिहान गाजामा आक्रमण समेत गरेको थियो । आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको र २५ जना भन्दा बढी घाइते भएका सीएनएनले जनाएको छ ।
हमासले उपलब्ध गराएको सूचीअनुसार युद्धविरामको पहिलो चरणमा ३३ बन्धकहरू रिहा हुनेछन् । तर उक्त सूचीमा हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीको नाम भने समावेश छैन । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएको थियो ।
हमासले ३३ जनामध्ये तीनजना महिला युद्धविराम सम्झौता लागू भएसँगै रिहा गर्ने जनाएको छ । हमासका अनुसार डोरोन स्टेनब्रेचर, एमिली डमारी र रोमी गोनेन पहिलो दिन रिहा हुनेछन् । ३१ वर्षीय डोरोन स्टेनब्रेचर पशु चिकित्सा नर्स हुन् । हमासले अक्टुबर ७ मा आक्रमण गर्दा उनी किबुट्ज केफर अजाको अपार्टमेन्टमा थिइन् । २८ वर्षीया एमिली डमारीलाई किबुट्ज कफर अजाबाट बन्धक बनाइएको थियो । उनीसँग बेलायत र इजरायलको दोहोरो नागरिकता रहेको बताइएको छ । त्यस्तै २४ वर्षीय रोमी गोनेनले सुपरनोभा फेस्टिभलबाट भाग्न खोज्दा एम्बुसमा परेकी थिइन् ।
हमासले सन् २०२३ अक्टुबर ७ मा दक्षिणी इजरालमा गरेको आक्रमणपछि विपिन सहित २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । तीमध्ये नेपालका विपिनका साथै तान्जानियाका १, थाइल्यान्डका ८ र इजरायलका ८४ सहित ९४ जना अझै हमासको नियन्त्रणमा छन् । तिनमा ८१ पुरुष १३ महिला छन् । इजरायली अधिकारीहरूका अनुसार हमासको नियन्त्रणमा रहेकामध्ये ६० जना जीवित छन् ।
इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार हमासले बन्धक बनाएकामध्ये १ सय ९ जनालाई अशक्त अवस्थाका र मानवीय सहायताका लागि अस्थायी युद्धविराम भएका बेला गरी मुक्त गरेको थियो । ८ जनालाई इजरायली सेनाले मुक्त गराएको थियो भने ३७ जनालाई मृत्युपछि जिम्मा लगाइएको थियो । हमासको नियन्त्रणबाट भागेका ३ जनाको भने इजरायली सेनाको आक्रमणमा मृत्यु भएको थियो ।
हमासले सन् २०२३ अक्टुबर ७ गरेको आक्रमणमा इजरायलमा १२ सयको ज्यान गएको थियो । त्यसलगत्तै हमास र इजरायलबीच युद्ध चर्किएको हो । गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यताको युद्धमा ४६ हजार ८ सय प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । तीमध्ये एक तिहाइभन्दा बढी बालबालिका छन् ।
प्यालेस्टिनी अधिकारीहरूका अनुसार मारिएका बालबालिकाको संख्या १८ हजार नाघिसकेको छ । इजरायली आक्रमणमा १ लाख १० हजार घाइते भएका छन् । इजरायलतर्फ १४ सयभन्दा बढीको ज्यान गएको छ ।