आइतबार, माघ ०६, २०८१

यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण


काठमाडौँ, ६ माघ : निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण गर्नुभएको छ । आगामी फागुन २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने उक्त चलचित्रको प्रचारप्रसारका क्रममा निर्देशक लामाले यौन स्वास्थ्यका विषय चलचित्रमा आउनुपर्ने महसुुस गरेर चलचित्र तयार गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मैले आफ्ना चलचित्रमार्फत सामाजिक विषयलाई उठान गरिरहेको हुन्छु । यौन स्वास्थ्यका विषयमा विदेशमा प्रशस्तै चलचित्र बनेका पाइए पनि नेपालमा निर्माण भएका छैनन । त्यसैले यो चलचित्र तयार गरेको हुँ ।

निर्देशक लामाले विषय केही गम्भीर सुनिए पनि प्रस्तुतीकरण भने मनोरञ्जनात्मक नै रहेको बताउनुभयो । चलचित्रको सार्वजनिक श्रव्दृश्य (टिजर) र ‘ब्रेकअप कविता’ अहिले चर्चामा छ । अन्य चलचित्रभन्दा यसको प्रचार शैली भिन्न देखिएको छ । चलचित्रको मुख्य पात्र कवि रहेकाले उहाँको प्रस्तुतिकरणलाई साहित्यका हिसाबले तयार गरिएको निर्देशक लामाले बताउनुभयो ।

यो बिहे गर्ने उमेर बितिसकेर पनि अविवाहित रहेका कविको मनोविज्ञानबाट भनिएको कथा हो । समस्यालाई व्यक्त गर्न नसक्दा आइपर्ने जोखिम र सामाजिक भयको मिश्रणले निम्त्याउने घटनाक्रमलाई चलचित्रमा देखाएका छौँ । यो चलचित्रले मनोरञ्जनमै भए पनि केही सिकाउँछ, चलचित्र भवनबाट हेरेर फर्किँदा केही फरकपन पक्कै महसुस गर्नुहुनेछ”, निर्देशक लामाले भन्नुभयो ।

एडल्ट ड्रामा’ भनिएको उक्त चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायत कलाकारले अभिनय गर्नुभएको छ । हिमाल कडरिया निर्माता रहनुभएको उक्त चलचित्रमा आलोक शुक्लाले छायाङ्कन तथा निमेष श्रेष्ठले सम्पादन गर्नुभएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading