काठमाडौँ, २५ पुसः माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच समाजवादी मोर्चा सक्रिय बनाउने सहमति भएको छ ।विगत ६ महिनायता मोर्चाका गतिविधि ठप्प रहेका बेला अब यसलाई सक्रिय बनाउने सहमति भएको हो ।
बिहीबार सिंहदरबारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूबीच मोर्चाको बैठक गरी कार्यक्रम तय गर्ने निधो भएको छ ।
‘समाजवादी मोर्चाका गतिविधि बढाउने सहमति भयो,’ बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसालले भने, ‘मोर्चाका संयोजक नेत्रविक्रम चन्दसँग सल्लाह गरी बैठक बोलाउने कुरा भएको छ ।’
माओवादी केन्द्रको नेतृत्वको सरकार विस्थापित भएपछि मोर्चाका गतिविधि भएका थिएनन् । सरकारबाहिर रहेका दलहरू मोर्चामा रहेकाले सरकारका गलत कामविरुद्ध दबाबमूलक कार्यक्रम बनाउने तयारी छ । भेटमा कांग्रेस-एमाले गठबन्धनको सामान्य समीक्षा भएको थियो । बाहिरबाट हेर्दा गठबन्धन सहज देखिए पनि सरकारका कामले गति नलिएको माओवादी र एकीकृत समाजवादीका नेताहरूको टिप्पणी थियो ।
समाजवादी विचार भएका अन्य दललाई पनि मोर्चामा समेट्ने उनीहरूको तयारी छ । एकीकृत समाजवादीका नेताहरुसँगको छलफलमा माओवादी अध्यक्ष दाहालले आफ्नो दलको केन्द्रीय समिति बैठकले एकताबद्ध भएर एकवर्षे अभियान चलाउने निर्णय गरेको बताएका थिए । उनले समाजवादी क्रान्तिको आधार तयार गर्न बैठक महत्त्वपूर्ण रहेको पनि बताएका थिए ।