बुधबार, माघ ०९, २०८१

अन्डाको मूल्यमा नयाँ कीर्तिमानी, एउटाकै २५ रुपैयाँ !


काठमाडौँ, १८ पुस : अन्डाको मूल्यले नयाँ कीर्तिमानी बनाएको छ । अन्डामा मुलुक आत्मनिर्भर भएको घोषणा गरिए पनि व्यवसायीले गत मंसिर १५ यता सातैपिच्छे मूल्य बढाइरहेका छन् । मागअनुसार आपूर्ति नभएको बहानामा उनीहरूले मूल्यवृद्धि गरिरहेका हुन् ।

गत मंसिर १५ मा मिडियम अन्डाको प्रतिक्रेट मूल्य ४ सय ४० र ठूलो अन्डाको प्रतिक्रेट मूल्य ४ सय ५५ रुपैयाँ थियो । मंसिर २१ मा मूल्य बढेर मिडियम अन्डा प्रतिक्रेट ४ सय ५५ रुपैयाँ र ठूलो अन्डा प्रतिक्रेट ४ सय ७० रुपैयाँ पुगेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ ।

मंसिर २७ सम्म आइपुग्दा अन्डाको मूल्य फेरि बढ्यो । संघले मंसिर २८ देखि लागू हुने गरी मिडियम अन्डा प्रतिक्रेट ४ सय ७० र ठूलो अन्डा प्रतिक्रेट ४ सय ८५ रुपैयाँ पुर्‍यायो । मूल्य त्यतिमा मात्र सीमित बनेन, पुस ४ मा मूल्य फेरि बढ्यो र मिडियम अन्डाको मूल्य प्रतिक्रेट ४ सय ८५ रुपैयाँ र ठूलो अन्डाको ५ सय रुपैयाँ पुर्‍याइयो । संघले पुस १२ मा फेरि नयाँ मूल्य तोक्यो– मिडियम अन्डाको प्रतिक्रेट ५ सय र ठूलो अन्डाको ५ सय १५ रुपैयाँ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

अन्डाको मूल्य उत्पादकदेखि बजारसम्म आइपुग्दा मनलाग्दी छ । धेरैजसो दाना पनि बिक्री गर्ने व्यवसायीले लेयर्स कुखुरापालन गरी अन्डा उत्पादन गर्छन् । उनीहरूले नै मूल्य तोक्छन्,’ एक व्यवसायीले भने ।

खुद्रा बजारमा पनि अन्डाको मूल्य मनपरी तोकिएको छ । संघले प्रतिगोटा अन्डाको मूल्य २२ रुपैयाँ ५० पैसा तोकेको छ । खुद्रा बजारमा भने २५ रुपैयाँसम्ममा बिक्री भइरहेको छ । अन्डा चितवन, दाङ, मकवानपुर, झापा, मोरङ, सुनसरीलगायत जिल्लामा बढी उत्पादन हुन्छ । तर, चितवनलाई आधार मानेर अन्डाको मूल्य निर्धारण गर्ने गरिएको छ । उत्पादकले मूल्य तय गरेपछि त्यसमा बक्स, क्रेट र ढुवानी भाडासमेत जोडेर वितरकले खुद्रालाई बिक्री गर्ने गरेको बताइन्छ ।

चितवनबाट लोड भई डिपो–डिलरसम्म पुर्‍याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिक्रेट थप २० रुपैयाँ थपिन्छ,’ एक व्यवसायीले भने, ‘त्यसपछि खुद्रा पसलमा पुग्छ । खुद्रा पसलले पनि केही मुनाफा राखेर बिक्री गर्दा सर्वसाधारणलाई महँगो पर्छ ।’  खुद्रामा प्रतिक्रेट ६ सयदेखि ६ सय २० रुपैयाँ पर्छ । एउटा किन्दा २५ रुपैयाँसम्म तिर्नुपर्छ ।

अन्डाको मूल्य एक–एक सातामा बढ्नुपर्ने कुनै कारण नरहेको ती व्यवसायी बताउँछन् । तर बजार मनपरी चलेको छ । केही ठूला व्यापारीको सिन्डिकेट चलेको छ, जसले गर्दा उपभोक्ता मारमा परेका छन् । संघको कार्टेलिङ र सरकारी नियमन फितलो हुँदा अन्डाको मूल्यमा मनलाग्दी भएको हो । ‘कुनै आधिकारिक तथ्यांक नभए पनि उत्पादन कम भएको र दानाको मूल्य बढेको बहानामा मूल्य बढाइएको छ,’ ती व्यवसायीले भने ।

केही वर्षअघि पशु सेवा विभागले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार मूल्यवृद्धिमा दानाको योगदान ७५ प्रतिशत हुन्छ । श्रम खर्च ७ प्रतिशत, पुँजीगत (खोर खर्च) २ प्रतिशत, लगानीमा ब्याज करिब ६ प्रतिशत र चल्लाको भाउ करिब ३ प्रतिशतले मूल्य निर्धारण गर्छ । उत्पादनस्थलबाट बजारमा पुग्दा प्रत्येक अन्डाको मूल्यमा ४ देखि ६ रुपैयाँसम्म वृद्धि हुन्छ ।

सरकारले २०७७ चैतमै देश अन्डामा आत्मनिर्भर भएको घोषणा गरेको थियो । नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ६१ गोटा अन्डा उपलब्धता भएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले अन्डामा मुलुक आत्मनिर्भर भएको दाबी गरेका थिए । अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओली नै छन् । तर, व्यवसायीको भनाइ मान्ने हो भने बजारमा मागको करिब १० प्रतिशत अन्डा अपुग छ ।

चार–पाँच वर्षयता अन्डाको दैनिक उत्पादन करिब ६० प्रतिशतले घटेको संघको दाबी छ । सोही कारणले पनि मूल्य बढेको उसको भनाइ छ । संघकै विवरणअनुसार २०७६ यता प्रतिक्रेट अन्डाको मूल्य २ सय ६५ रुपैयाँ बढेको छ । २०७६ पुसमा मिडियम अन्डाको मूल्य प्रतिक्रेट २ सय ५५ र ठूलो अन्डाको प्रतिक्रेट मूल्य २ सय ७५ रुपैयाँ थियो । २०८१ पुस १२ मा आइपुग्दा मिडियम अन्डाको प्रतिक्रेट मूल्य ५ सय २० रुपैयाँ र ठूलो अन्डा प्रतिक्रेट ५ सय ३५ रुपैयाँ पुगेको छ ।

नेपाल लेयर्स कुखुरापालक संघ भने मूल्य बढ्नु जायज भएको दाबी गर्छ । ‘मूल्य बढ्नुको कारण उत्पादन नै कम हुनु हो, कोभिडयता धेरै किसान विस्थापित भएका छन् । बूढा कुखुरा मासुका रूपमा प्रयोग भए, नयाँ चल्ला आएनन् । त्यही कारण अन्डा उत्पादन घट्यो,’ संघका संस्थापक अध्यक्ष विनोद पोखरेलले भने,  ‘अहिले चिसो मौसम छ, पर्यटकको संख्या बढ्दा होटलहरूबाट पनि माग बढेको छ । सर्वसाधारणमा पनि अन्डा खानुपर्छ भन्ने जागरुकता देखिएको छ । यिनै विविध कारणले माग बढेको छ । तर, त्यसअनुसार उत्पादन नहुँदा मूल्यवृद्धि भइरहेको छ ।

कोभिडयता करिब ६० प्रतिशत किसान विस्थापित भएको पोखरेलले जनाए । ‘कोभिडअघि साना–ठूला गरी करिब ८ सय किसानले अन्डा उत्पादन गर्थे । अहिले साढे २ सयको हाराहारीमा मात्रै छन्,’ उनले भने, ‘उत्पादन पनि दिनको ३० देखि ३२ लाख गोटा मात्र उत्पादन भएको छ । मागअनुसार अझै १० प्रतिशत उत्पादन पुगेको छैन ।

अहिले किसानको लागत प्रतिअन्डा मूल्य १६ रुपैयाँ ५७ पैसा पर्छ । उनीहरूले १७ रुपैयाँमा बेच्छन् । पसलसम्म आइपुग्दा एउटा अन्डाको मूल्य १९ रुपैयाँदेखि २० रुपैयाँसम्म पुग्छ । ‘किसानबाट पसलसम्म आइपुग्न ढुवानी भाडा, टुटफुटलगायतलाई जोडेर १९/२० रुपैयाँ पर्छ । त्यसमा २ देखि साढे २ रुपैयाँ मुनाफा जोडेर व्यवसायीले बेच्छन्,’ पोखरेलले भने । यसरी उपभोक्ता मूल्य प्रतिगोटा २२ रुपैयाँ ५० पैसा रहेको संघको भनाइ छ । संघले तोकेको मूल्यमा सर्वसाधारणले अन्डा पाउँदैनन् । पसलमा एउटै अन्डाको २५ रुपैयाँसम्म पर्छ ।

नेपाल अन्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले पनि उत्पादनमा कमी आएपछि ३ महिनायता मूल्य बढेको बताए । ‘चल्ला र लेयर्स कुखुरापालन गर्ने किसान घटेका छन् । यही बेला अन्डाको माग पनि बढेको छ, त्यही भएर मूल्य बढेको हो,’ केसीले भने ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले भने दानाको खपत बढेका कारण त्यसको असर अन्डाको मूल्यमा परेको जनाए । ‘हामीले व्यवसायीसँग छलफल गरेका थियौं । चिसोमा दानाको खपत बढेको छ । लागत बढेको छ, त्यही कारण मूल्य बढेको बताएका छन्,’ पौडेलले भने ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading