11/14/2025, 21:02:37
शुक्रबार, कार्तिक २८, २०८२

मतदाता नामावली दर्ताका लागि पाँच दिन थपियो समय


काठमाडौँ, कात्तिक २८ : मतदाता नामावलीमा नाम लेखाउनेको चाप बढेपछि निर्वाचन आयोगले त्यसका लागि पाँच दिन समय थप गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले समय थप्न आयोगलाई आग्रह गरेकी थिइन् ।

निर्वाचन आयुक्त सगुन शमशेर जबराका अनुसार मतदाता नामावलीमा नाम लेखाउने समय मंसिर ५ गतेसम्म थपिएको हो । आयोगले ३० कात्तिकसम्मको समय दिएको थियो ।

प्रधानमन्त्री कार्कीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई शुक्रबार टेलिफोन गरेर चाप बढेकाले समय थप्न भनेकी हुन् । दुई दिन मात्रै समय बाँकी रहेका बेला अत्यधिक चाप बढेर पटक पटक आयोगको सर्भर समेत डाउन हुन थालेपछि नाम लेखाउन चाहनेहरुको गुनासो बढेको थियो । प्रधानमन्त्री कार्कीकै पहलमा मतदाता परिचयपत्रको लिंकलाई राष्ट्रिय परिचयपत्रको तथ्यांकसँग जोडिएपछि झन् चाप बढेको छ ।

राष्ट्रिय परिचय हुनेले मतदाता नामावलीका लागि जैविक तथ्यांक(बायोमेट्रिक)दिन निर्वाचन कार्यालयमा पुग्नुपर्ने झन्झट बिहीबारबाट अन्त्य गरिएको छ । मतदाता नामावलीमा नाम दर्ता गराउन आयोगको वेब साइटबाट अनलाइन फारम भर्दा राष्ट्रिय परिचय पत्रको नम्बर राखेपछि व्यक्तिगत विवरण समेत आउने र जैविक तथ्यांकपनि त्यतैबाट आउने भएपछि झन्झट कम भएको छ । प्राविधिक रूपमा त्यो प्रयोग सफल भएपछि अयोगले राष्ट्रिय परिचयपत्र नम्बर राखेर मतदाता नामावलीका लागि अनलाइन आवेदन दिन बिहीबार आह्वान गरेको थियो ।