04/20/2025, 02:28:58

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन


काठमाडौँ, १३ पुस:  दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलमाथि महाभियोग लगाइएको दुई सातापछि उहाँका समर्थक र विरोधीले शनिबार विरोध प्रदर्शन गरेका छन् ।

गत डिसेम्बरको शुरुमा सैनिक शासन लागू गर्न खोजेपछि युनको पक्ष र विपक्षमा व्यापक प्रदर्शन भएको छ र यसले देशलाई दशकौँ यताकै सबैभन्दा खराब राजनीतिक सङ्कटमा धकेलेको छ । युनको महाभियोग प्रक्रिया पूरा गर्न र उहाँलाई न्यायको कठघरामा ल्याउन माग गर्न अस्वीकार गरेपछि सांसदहरूले शुक्रबार युनको स्थानमा कार्यवाहक राष्ट्रपति बन्नुभएका हान डक–सोमाथि महाभियोग लगाएका थिए ।

युन र हानको भाग्यको फैसला संवैधानिक अदालतले गर्ने हो तर दुवै खेमाका प्रदर्शनकारीले यसबीचमा दबाब जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रपति युनको रक्षाका लागि करिब २० लाख मानिस एकजुट हुनेछन्,” सियोलमा आयोजित र्याली आयोजकमध्येका एक युनका समर्थक री काङ सानले बताउनुभयो । उहाँले भन्नुभयो, “महाभियोगविरुद्ध जनताको आवाजलाई अझ सशक्त बनाउने हाम्रो प्रयासलाई र्यालीले निरन्तरता दिएको छ।

युन विरोधी र्यालीका आयोजकले उहाँविरूद्धको महाभियोगलाई समर्थन गर्नेहरुको आक्रोश ‘झनै चर्को रुपमा जलिरहेको’ बताए । र्यालीका सहभागीले ‘अब युनलाई तत्काल बर्खास्त गर्न र सजायको माग गरिरहेका’ बताएका छन् ।

विपक्षी र हानबीच उहाँले संवैधानिक अदालतमा रिक्त रहेका तीन थप न्यायाधीशहरू नियुक्त गर्न इन्कार गर्नुभएपछि द्वन्द्व बढेको र पछि यसैको शिलशिलामा उहाँले कोही ‘सैन्य कानुन’ कार्यान्वयन गर्ने घोषणापछि विपक्षी निलम्बित राष्ट्रपति र उहाँका मन्त्रीहरूप्रति आक्रोशित बनेका छन् ।

युनलाई महाभियोग लगाउने संसदको निर्णयलाई कायम राख्ने वा नराख्ने भन्ने विषयमा अहिलेका छ जना न्यायाधीशले निर्णय गर्न सक्ने भए पनि असहमति जनाउने मतले उहाँलाई पुनर्बहाली गर्नेछ । विपक्षीहरूले हानले नौ सदस्यीय बेन्च भर्नका लागि थप तीन जना मनोनीत व्यक्तिहरूलाई अनुमोदन गरोस् भन्ने चाहन्थे, जुन उहाँले गर्न अस्वीकार गर्नुभएको थियो । यसले गर्दा दुवै पक्ष गतिरोधमा परेका थिए।

दोस्रो महाभियोगले अर्थमन्त्री चोइ साङ मोकलाई कार्यवाहक राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकामा नियुक्त गरेको छ । यसले देशलाई अनिश्चितताको शिकार बनाएको छ ।

इन्चोन नेसनल युनिभर्सिटीका प्राध्यापक ली जुन हानले भन्नुभयो, “हामीले यसअघि पनि कार्यवाहक राष्ट्रपति बनाएका थियौँ तर हामीले विकल्पको विकल्प खोज्दै एकपछि अर्को महाभियोग प्रस्तावमाथि छलफल र मतदान गरेको यो पहिलो पटक हो ।

चोईले महाभियोगपछि जारी गरेको वक्तव्यमा भनिएको छ, “यस घडीमा सरकारी उथलपुथल कम गर्नु सबैभन्दा महत्वपूर्ण छ, सरकारले पनि आफ्नो सम्पूर्ण प्रयासलाई उथलपुथलको यस कालखण्डबाट पार पाउनका लागि समर्पित गर्नेछ ।

हानजस्तै चोइले पनि नयाँ न्यायाधीशको नियुक्ति स्वीकार गर्न विपक्षीको दबाबको सामना गर्नुपर्नेछ । यदि उहाँले अस्वीकार गरेमा उहाँले पनि महाभियोगको सामना गर्नु पर्ने अवस्था आउनसक्छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..