काठमाडौँ, ५ पुस : अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली सङ्घ (इयु) लाई तेल र ग्यास खरिदमार्फत वासिङ्टनसँगको ‘विशाल’ व्यापार घाटा नघटाए भन्सार महसुल लगाउने धम्की दिनुभएको छ ।
“मैले इयुलाई उनीहरूले हाम्रो तेल र ग्यासको ठूलो मात्रामा खरिद गरेर संयुक्त राज्य अमेरिकासँगको आफ्नो विशाल घाटालाई पूरा गर्नुपर्दछ भनेको छु”, ट्रम्पले शुक्रबार बिहान आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा भन्नुभयो, “अन्यथा पूरै भन्सार महसुल लगाइनेछ ।”
अमेरिकी तथ्याङ्कअनुसार सन् २०२२ मा इयुबाट पाँच खर्ब ५३ अर्ब ३० करोड डलरको सामान आयात भएको थियो भने युरोपेली सङ्घमा यसको निर्यात तीन खर्ब ५० अर्ब ८० करोड डलर थियो । यसले त्यस वर्ष इयुसँग अमेरिकाको वस्तु व्यापार घाटा दुई खर्ब दुई अर्ब ५० करोड डलर पु¥याएको छ ।
इयु प्रमुख उर्सुला भोन डेर लेयनले नोभेम्बरमा ट्रम्पलाई रुसी ऊर्जाको विकल्पका रूपमा अमेरिकाले थप तरलीकृत प्राकृतिक ग्यास आपूर्ति गर्नसक्ने सुझाव दिनुभएको थियो । शुक्रबार ट्रम्पको धम्कीबारे प्रश्नको जवाफ दिँदै इयुका प्रवक्ताले अमेरिकाले पनि ‘इयुसँग पर्याप्त सेवा व्यापार बचत’ गरेको उल्लेख गर्दै २७ राष्ट्रको समूह वार्ताका लागि खुला रहेको बताउनुभयो ।
“ऊर्जा क्षेत्रमा हाम्रो साझा चासोका बारेमा छलफल गरी पहिले नै बलियो सम्बन्धलाई कसरी अझ सुदृढ पार्न सकिन्छ भनेर राष्ट्रपतिमा निर्वाचित ट्रम्पसँग छलफल गर्न हामी तयार छौँ”, इयुका प्रवक्ता ओलोफ गिलले पत्रकार सम्मेलनमा भन्नुभयो ।
जनवरीमा पदभार ग्रहण गर्नुहुने ट्रम्पले क्यानाडा, मेक्सिको र चीनलगायत अमेरिकी व्यापारिक साझेदारहरूमाथि भन्सार महसुल लगाउने धम्की दिनुभएको छ । यसले विश्वव्यापी अर्थतन्त्रमा तरङ्ग ल्याउन सक्छ ।
क्यानाडा र मेक्सिकोलाई संयुक्त राज्य अमेरिकामा अवैध लागुपदार्थ र कागजातविहीन आप्रवासीहरूको बाढी ल्याउन दिएको आरोप लगाउँदै उहाँले २५ प्रतिशत आयात शुल्क लगाउने धम्की दिनुभएको थियो । उहाँले वासिङ्टनको एशिया–प्रशान्त प्रतिद्वन्द्वी चीन विरुद्ध कम्तीमा १० प्रतिशत लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
यस महिनाको सुरुमा इयुले चार दक्षिण अमेरिकी देशहरू अर्जेन्टिना, ब्राजिल, पाराग्वे र उरुग्वेसँग एक विशाल व्यापार सम्झौता सम्पन्न गर्यो । सम्झौताले ७० करोड ग्राहक भएको मुक्त व्यापार क्षेत्र सिर्जना गर्ने लक्ष्य राखेको छ ।
भोन डेर लेयनले सम्झौताले व्यापार पुलहरू निर्माण गर्ने बताउनुभएको थियो । उहाँका अनुसार ‘विपरीत दिशामा एकान्तता र विखण्डनतर्फ बलियो हावाहरू बगिरहेका छन् ।’ यी टिप्पणीलाई मुख्यतया ट्रम्पको भन्सार महसुल बढाउने धम्कीतर्फको सङ्केतका रूपमा हेरिएको छ ।
केही विश्लेषकले ट्रम्पको भन्सार महसुलको धम्की मात्र हुनसक्ने वा उहाँ ह्वाइट हाउसमा आएपछि भविष्यको व्यापार वार्तामा लाभ लिने प्रारम्भिक चाल हुनसक्ने बताएका छन् । तथापि ट्रम्पले ‘उचित रूपमा प्रयोग गरिएको’ भन्सार महसुल अमेरिकी अर्थतन्त्रका लागि सकारात्मक हुने कुरामा निरन्तर जोड दिनुभएको छ ।
“हाम्रो देश अहिले सबैसँग हारिरहेको छ”, उहाँले यस हप्ताको सुरुमा आफ्नो फ्लोरिडास्थित निवासमा पत्रकारहरूलाई भन्नुभयो, “भन्सार महसुलले हाम्रो देशलाई धनी बनाउनेछ ।”
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















