10/19/2025, 13:40:52
आइतबार, कार्तिक ०३, २०८२

कांग्रेस नेता गगन थापाको घरबाट फ्रिज र उफर चोर्ने पक्राउ


काठमाडौँ, कात्तिक २ : जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिका बीच नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरबाट फ्रिज र उफर चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

प्रहरी वृत्त गौशालाले सिन्धुली घर भई हाल रातोपुलमा डेरा गरी बस्दै आएका ४० वर्षीय रमेश थामीलाई पक्राउ गरेको हो । गौशालाका एक प्रहरी अधिकृतका अनुसार उनको साथबाट फ्रिज र उफरसमेत बरामद गरिएको छ ।

२३ भदौमा भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएका जेन-जीमाथि राज्य पक्षले दमन गर्दा एकैदिन कम्तीमा २२ जनाको गोली लागेर ज्यान गएको थियो । भोलिपल्टको प्रदर्शनले विध्वंसको रुप लिएको थियो । संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतसहित महत्वपूर्ण संरचनामा आगजनी भएको थियो ।

शीर्ष नेता, पार्टी कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका घरमा समेत आगजनी र तोडफोड भएको थियो । धेरैजसो ठाउँमा लुटपाट पनि भएको थियो । अहिले प्रहरीले आन्दोलनका नाममा घुसेका ‘अपराधिक मानसिकता र पृष्ठभूमिका’ व्यक्तिहरुबारे अनुसन्धान गरिरहेको छ ।

दोस्रो दिनसमेत गरेर जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७६ पुगेको थियो ।