10/19/2025, 11:26:49
आइतबार, कार्तिक ०३, २०८२

बर्सेनि भित्रिन्छ पटका, तस्करी रोक्न किन सक्दैन प्रहरी ?

तिहार उज्यालोको पर्व हो, तर अहिले धुवाँ र विस्फोटको पर्व बनाउँदैछौं । यो हाम्रो संस्कृतिमाथिको गम्भीर आक्रमण पनि हो । उज्यालोका नाममा हामी हावा कालो बनाइरहेका छौं । हाम्रो स्वास्थ्यमाथि हामी आफैँ खेलबाड गरिरहेका छौँ ।


विराटनगर, कात्तिक २ : २९ असोज बिहान साढे १० बजे, झापाको गौरादह नगरपालिका–१ कृषि बजार क्षेत्रबाट प्रहरीले दुई बोरा सामान बरामद गर्‍यो । गौरादहका प्रहरी प्रमुख इन्स्पेक्टर चन्द्रिका कुमार श्रेष्ठको कमाण्डमा खटिएको गस्ती टोलीले गौरीगन्जतर्फबाट आइरहेको एक मोटरसाइकललाई जाँच गर्दा भेट्यो, करिब ५० हजार रुपैयाँको दुई बोरा पटका ।

त्यसको अघिल्लो दिन, २८ असोज बिहान साढे ७ बजे, झापाको गौरीगन्ज गाउँपालिका–४ हुक्कागाछीस्थित सीमा क्षेत्रमा अर्को अवैध कारोबारको प्रयास प्रहरीले असफल तुल्यायो । भारततर्फबाट लुकाएर ल्याउँदै गरिएको २० बन्डल (१००० प्याकेट) पटका प्रहरीले बरामद पर्‍यो । जसको मूल्य करिब ४ लाख थियो ।

२५ असोज राति साढे १० बजे भद्रपुरबाट ४ लाख मूल्यको पटका बरामद भयो । उक्त पटका तस्करी गिरोहले भारतबाट भन्सार छल्दै नेपाल भित्र्याइएको थियो । यी तीनै घटनामा प्रहरीले पटका त बरामद गर्‍यो । तर, सामान भित्र्याउने कार्यमा संलग्न व्यक्ति भने पक्राउ गर्न सकेन । प्रहरी भन्छन्, ‘हामीलाई देख्नेबित्तिकै सामान छाडेर व्यक्ति भागे ।

तीनै घटनाले एउटा साझा यथार्थ उजागर गर्छ, भारत–नेपाल सीमाको कमजोर सुरक्षा संयन्त्र र तस्करीको जालो । खुला सीमाको फाइदा उठाउँदै साना–ठूला व्यापारीहरूले स्थानीय बस्ती र साना गाडीमार्फत पटका लुकाएर नेपाल भित्र्याउँछन् ।

झापादेखि सुनसरीसम्मको करिब ३ सय किलोमिटर लामो खुला सीमामा सशस्त्र प्रहरीका दर्जन बढी बीओपीहरु छन् । तर, २४ घण्टा निगरानी गर्न सक्ने स्रोत, उपकरण र जनशक्ति पर्याप्त छैन । जसले पटका लगायतका अन्य वस्तुको तस्करी सहज बनाएको हो । ‘देखेसम्म भित्र्याउन नदिने हो’, कोशीका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले भने, ‘तर, खुला सीमानाको फाइदा उठाएर भित्र्याइहाल्छन्, हाम्रो केही लाग्दैन ।

डीआईजी कार्कीका अनुसार खुला सीमानाको चुनौती छ । नाका सुरक्षा उपस्थिति न्यून छ । जसको फाइदा गिरोहले उठाउँछन् । ‘हामीले अवैध गतिविधि गर्न नदिन प्रयास चाहिँ निरन्तर नै गर्दै आएका छौँ’, उनी थप्छन्, ‘तर, शून्य बनाउनचाहिँ गाह्रो छ ।

जेन–जी आन्दोलन र प्रदर्शनपछि सुरक्षा निकायको मनोबल कमजोर छ । त्यसको फाइदा उठाउँदै झापा, मोरङ र सुनसरीका विभिन्न नाकाबाट अवैध रुपमा प्रतिबन्धित पटका भित्रिरहेको छ ।

कानुनी प्रतिबन्ध, तर सामाजिक बेवास्ता

सरकारले विस्फोटक पदार्थको आयात, बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । तर, बजारमा सहजै पाइने वस्तुहरूकै कारण यो कानुनको प्रभाव कमजोर बनेको छ । पटकामा रासायनिक तत्व (पोटासियम क्लोरेट, सल्फर र फस्फोरस) को मात्रा अत्यधिक हुन्छ, जसले आगलागी, जलन र विस्फोटका गम्भीर दुर्घटना निम्त्याउन सक्छ । प्रहरी अधिकारीहरूका अनुसार हरेक वर्ष उनीहरु सयौं किलो पटका नियन्त्रणमा लिन्छन् । सामाजिक सहयोग बिना यो नियन्त्रण सम्भव नभएको उनीहरु बताउँछन् ।

तिहार रमाइलोको पर्व हो, तर रमाइलोका नाममा जोखिम निम्त्याउनु सामाजिक सोचको कमजोरी रहेको उनीहरुको ठम्याइ छ । बालबालिकाहरू ठूलो आवाज र झिलिमिली बत्तीलाई रमाइलो ठान्छन् । अभिभावकले पनि ‘पर्वको मजा’ भन्दै मौन सहमति जनाउँछन् । यही सहमतिको मूल्य धेरैले दुर्घटनामा चुकाएका छन् । हात पोल्ने, आँखा गुमाउने, आगलागीका घटनाहरू हुने र कतिपय अवस्थामा ज्यानै समेत गुमाएका उदाहरण छन् । तर, हरेक वर्ष यो उपक्रम दोहोरिरहन्छ ।

हिमालयन कलेज धुलाबारीका प्राध्यापक सागर शिवाकोटी भन्छन्,  ‘तिहार उज्यालोको पर्व हो, तर अहिले धुवाँ र विस्फोटको पर्व बनाउँदैछौं । यो हाम्रो संस्कृतिमाथिको गम्भीर आक्रमण पनि हो ।’ उनका अनुसार विस्फोटक पदार्थ पड्काउँदा धुलो र धुवाँ वायुमण्डलमा मिसिन्छ, जसले वायु प्रदूषणको स्तर तीव्र रूपमा बढाउँछ ।

चिकित्सकहरुका अनुसार पटकाले श्वासप्रश्वासका बिरामी, बालबालिका र वृद्धहरूमा तत्काल असर गर्छ । चिकित्सक डा. पिताम्वर ठाकुरको चेतावनी छ, ‘उज्यालोका नाममा हामी हावा कालो बनाइरहेका छौं । हाम्रो स्वास्थ्यमाथि हामी आफैँ खेलबाड गरिरहेका छौँ ।

पटका तस्करी नियन्त्रणका लागि प्रहरी सक्रिय त देखिन्छ । तर तस्करी सञ्जाल झनै बलियो छ ।

प्रहरी स्रोतका अनुसार, सीमामा दैनिक गस्ती बढाइएको छ, सूचना सञ्जाल सक्रिय पारिएको छ । स्थानीय तहसँग समन्वय गरी चेतना कार्यक्रम पनि अघि बढाइएको छ । ‘तर, पनि हाम्रा अभिभावकहरुलाई पटका पड्काउनु हुन्न भन्ने चेत आउनै सकेको छैन’, ती प्रहरी अधिकारीले भने,  ‘सामाजिक अगुवाहरु अघि सर्ने हो भने यसको प्रयोग पक्कै रोकिने छ ।

– पर्वत पोर्तेल