10/19/2025, 15:59:59
आइतबार, कार्तिक ०३, २०८२

रास्वपाको सचिवालय विस्तारप्रति तोसिमा कार्की असन्तुष्ट, मध्यमार्गी शक्ति निर्माण गर्न माग


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ तोसिमा कार्कीले सचिवालय विस्तारप्रति आपत्ति जनाएकी छन् ।शनिबार बसेको पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकमा पार्टी विधानको धारा २६ अनुसार सभापति रवि लामिछानेले ४ जनालाई सचिवालय सदस्यमा मनोनीत गरेका हुन्।

रास्वपा स्रोतका अनुसार सभापतिको सिफारिसमा कार्यबाहक सभापति डीपी अर्यालले सचिवालय सदस्यका रुपमा सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई प्रस्तुत गरेपछि पारित भएको थियो। उनीहरु प्रतिनिधि सभाका निवर्तमान सांसद हुन्। सोही विषयलाई लिएर आज उनले सामाजिक सञ्जालमार्फत असन्तुष्ट जनाउँदै पार्टी थप लोकतान्त्रिक हुन जरुरी रहेको बताइन्।

उनले आफूहरूले खोजेको रिफर्मेसन कार्यकारी नेतृत्व भएको बताइन् । पार्टीको महाधिवेशन कहिले गर्ने के गर्ने भन्ने विषयमा निर्णय गर्नका लागि विस्तारित बैठक बोलाइए पनि २ हप्ताअगाडि नै सचिवालय विस्तार गरिएको कार्कीको गुनासो छ। ‘पार्टीमा रिफर्मेसनको एजेण्डा उठिरहेको थियो। त्यसैको लागी विस्तारित बैठक तोकिएको थियो। महाअधिवेशन कैले गर्ने, के गर्ने, भन्ने निर्णयको लागि २ हप्तामा हुन लागेको विस्तारित बैठकसमेत नकुरी सचिवालय विस्तार गरियो। हामीले खोजेको रिफर्मेसन यो होइन। कार्यकारी नेतृत्व परिवर्तन हो, पनर्गठन हो।’ उनले भनेकी छन्, ‘फेरि पनि भन्दैछु हामी थप लोकतान्त्रिक हुन जरुरी छ। कार्यशैली सच्याउन जरुरी छ। पार्टीका गतिविधिहरुमा सङ्गठनको जरा जराले अपनत्व महसुस गर्न सक्नुपर्छ।’

उनले भोटिङ राइट नदिने भए देशभरिबाट चितवनसम्म बोलाएर, समय, पैसो, श्रम खर्च गरेर राखिने बैठकको औचित्य नभएको बताइन्। ‘पुन: दोहोर्याउँछु, विस्तारित बैठकमा पार्टीको सङ्गठनको बृहत सहभागिता र भोटिङ राइटको सुनिश्चित गरियोस् भनि माग गर्दछु।’ उनले भनेकी छन्, ‘भोटिङ राइट नदिने भए देशभरिबाट चितवनसम्म बोलाएर, समय, पैसो, श्रम खर्च गरेर निर्णयको अधिकार नदिने भए बैठकको औचित्य छैन।’

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात चितवनमा विस्तारित बैठक बस्न लागेको हो। जेनजी आन्दोलनमा तत्कालीन सांसद समेत रहेकी कार्की सहभागी भएको भन्दै पार्टीभित्र र बाहिर आलोचना हुँदै आएको छ। उनले संसद् भवन जलिरहँदा भवन परिसरमा आन्दोलनकारी सँगै थिइन्।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..