सोमबार, पुष ०८, २०८१

मुग्लिन–पोखरा सडकः २० किमी खण्डमा अन्तिम कालोपत्र


दमौली (तनहुँ), ५ पुसः मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डको २० किलोमिटर सडकमा फाइनल (अन्तिम) कालोपत्र सकिएको छ । यस अगाडि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम कालोपत्रको काम तीव्रगतिमा अगाडि बढेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जानकारी दिएको छ ।

उक्त खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार बन्दीपुर, आँबुखैरेनी र व्यास तीन पालिकाका विभिन्न ठाउँमा अन्तिम कालोपत्रको काम अगाडि बढाइएको छ । उहाँले भन्नुभयो, “यसअघि सडकको मोटाइ छ सेन्टिमिटर थियो, अब त्यही ठाउँमा थप चार सेन्टिमिटरको काम भइरहेको छ ।

पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत ६३ किलोमिटर दूरीमा कालोपत्र भएको छ । पाण्डेले पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म हालसम्म ७० प्रतिशत भौतिक प्रगति भएको छ । पाण्डेले भन्नुभयो, “पहिलो चरणमा एकतर्फी अन्तिम कालोपत्र सकेर अर्कोतर्फ काम सुरु गरिनेछ, अन्तिम चरणको कालोपत्र सकिएपछि सडक रङरोगनको काम अगाडि बढ्नेछ ।

पूर्वी खण्डअन्तर्गत नै दमौलीको बुल्दीपुलबाट घाँसीकुवातर्फको खण्डमा पनि कालोपत्रको कामलाई अगाडि बढाइएको छ । दमौली बजारमा समेत सडक विस्तारका लागि अहिले नाली बनाउने काम भइरहेको छ । दमौली बजारमा केन्द्रविन्दुबाट २३–२३ मिटरलाई आधार मानेर सडक विस्तारको काम हुनेछ ।

यो खण्डमा १४ साना पुल निर्माण सकिएका छन् । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम करिब ५० प्रतिशत सकिएको छ । पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ साल वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading