भद्रपुर (झापा), १७ मङ्सिरः झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित हुनुभएको छ । आज भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार नेकपा (एमाले) का तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, नेकपा (माओवादी केन्द्र) का गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गर्नुभयो । यसअघि २०७९ सालमा भएको निर्वाचनमा नेकपा (एमाले) का दीर्घबहादुर थापा पाँच सय आठ मत ल्याई निर्वाचित हुनुभएको थियो । कन्काई–६ मा कूल दुई हजार ५८ मतदाता रहेकामा एक हजार पाँच सय १३ मत खसेको निर्वाचन अधिकारी नेपालले जानकारी दिनुभयो।
मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नमोनारायण माझीले छ हजार नौ सय ६९ मत ल्याएर निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँको निकटतम् प्रतिस्पर्धीमा नेपाली कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत ल्याउनुभएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिनुभयो । गत असार ३ गते ग्रामथानका तत्कालीन अध्यक्ष जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन भएको हो । गुलरिया (बर्दिया), बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार अमिन थारुले एक हजार ४३ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्र्धी नेकपा (माओवादी केन्द्र)का छ सय ७८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काँक्रेविहार (सुर्खेत) , जाजरकोट नलगाड नगरपालिकामा भएको उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवका लामिछानले चार हजार दुई सय ७२ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिस्धी नेपाली कांग्रेसका उम्मेदवार इन्द्राचन्द सिंहले तीन हजार एक सय ४७ मत प्राप्त गर्नुभएको सहायक मतदान अधिकृत धर्मबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार सोह्र हजार चार सय ४९ मतदाता मध्ये १० हजार छ सय छ मत खसेको थियो । उदयपुर (गाईघाट), त्रियुगा नगरपालिका–१२ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नवीनकुमार बान्तावा राईले नौ सय २३ विजयी हुनुभएको छ । आइतबार सम्पन्न स्थानीय तह निर्वाचमा उहाँको निकटतम प्रतिष्पर्धी नेकपा (एमाले)का लक्ष्मीनारायण चौधरीले छ सय आठ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यलयले जनाएको छ ।
काठमाडौँ महानगरपालिका वडानम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठले दुई हजार नौ सय दुई विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँका निकटतम प्रतिस्पधी नेकपा (एमाले)का उम्मेदवार लक्ष्मीरत्न महर्जनले दुई हजार दुई सय २० मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ । कांग्रेसबाट विजयी तत्कालीन वडाध्यक्षमुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । कीर्तिपुर, कीर्तिपुर नगरपालिका–१को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जनले पाँच सय ६२ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हर्ष महर्जनले चार सय ९८गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ । ताप्लेजुङ, ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३ सिकैचाको वडाध्यक्ष पदमा नेकपा (एमाले)का कुमारी साउदेनले तीन सय ५३ मत प्राप्त गरेर विजयी हुनुभएकी छिन् । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अम्बी साउदेनले दुई सय ५१ मत प्राप्त गर्नुभएको थियो । यसअघि २०७९ सालको निर्वाचनमा यस वडामा नेपाली कांग्रेसको उम्मेदवारले विजय हासिल गर्नुभएको थियो । मकवानपुर, हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्षपदमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र ) का रविनकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिनुभयो । यसअघिको स्थानीय निर्वाचनमा सो वडामा माओवादीका उम्मेदवार निर्वाचित हुनुभएको थियो । महोत्तरी , यहाँको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षपदमा नेकपा (एमाले)का सकिबुल खाँले छ सय ३१ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)की आइतीकुमारी यादवले पाँच सय ३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिनुभयो । रौतहट, यहाँको राजपुर नगरपालिका ६ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार समसे आलमले सात सय ४४ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का जिकरुल्लाहले चार सय ६३ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिनुभएको छ ।