काठमाडौँ, १६ मङ्सिरः ‘पूर्णबहादुरको सारङ्गी’ अहिले घरेलु बक्स अफिसमा झण्डै आधा अर्बको दौडमा छ । अहिलेसम्मको विश्वव्यापी कलेक्सन ६९ करोड रुपैयाँ छ, जुन आफैंमा कीर्तिमानी अंक हो । घरभित्र फिल्मले चौथो सातासम्म ४५ करोड ७४ लाख ग्रस कमाएको छ । विदेशमा मात्रै २३ करोड ३५ लाख नेरु ग्रस कमाएको छ । फिल्मले जसरी स्वदेश र विदेशमा कमाइ गर्यो, रेकर्डलाई तोड्न सजिलो अवश्य छैन ।
फिल्मको नयाँ श्रृंखलालाई हेर्न दर्शक अधैर्य छन् । दर्शकको मुड बुझेरै होला, निर्माता कम्पनी सेभेन सिज दोस्रो सिक्वेल बनाउने तयारीमा जुटेको छ । २०८३ सालमा दोस्रो श्रृंखला रिलिज गर्ने लक्ष्य छ । निर्मातामध्येका विनोद पौडेलले पटकथा तयार रहेको र दुई वर्षमा दोस्रो श्रृंखला ल्याउने योजना रहेको बताए । दोस्रो श्रृंखलामा भने फिल्मले ‘बाटुली’ को कथा भन्नेछ । मुख्य महिला पात्र बाटुलीलाई लिएर फिल्म बनाउने तयारी भएको हो ।
‘हामीले पहिलो भाग लेख्ने बेलामै दोस्रोको पनि स्क्रिप्ट तयार पारेका थियौं । २०८३ मा रिलिज गर्ने हाम्रो लक्ष्य छ’ पौडेलले भने, ‘दर्शकले २०० प्रतिशत सिक्वेल हेर्न पाउनेछन् ।’
तपाईंले ‘पूर्णबहादुरको सारङ्गी’ हेर्नुभएको छ भने छोराको भविष्यका लागि बाटुलीले गर्ने हृदयस्पर्शी विद्रोह र उसको यात्रालाई थोरै चित्रण गरिएको छ । दर्शकले पहिलो भागमा बाटुलीको बाँकी आयाम हेर्न पाएका छैनन्, यसैले त्यो थाहा पाउन उत्सुक छन् । बाटुलीको भूमिकामा अञ्जना बराइलीले अभिनय गरेकी छन् ।