सोमबार, पुष ०८, २०८१

स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवस मनाइँदै, तीन जनालाई सम्मान गरिने !


१४ मंसिर, काठमाडौं । मंसिर १९ गते स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवस मनाइँदैछ । वर्षेनी स्मृति दिवसको अवसरमा नारायण गोपाल संगीत कोषले ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ प्रदान गर्छ । नेपाली संगीतमा महत्वपूर्ण योगदान पुर्‍याउने कलाकारलाई वर्षेनी सम्मान प्रदान गरिन्छ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना हुने समारोहमा गीतकार शिवशंकर थापा, संगीतकार बुलु मुकारुङ र गायक कुमार बस्नेतलाई जनही नगद ५१ हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्लाले सम्मान गरिने भएको छ ।

उक्त कार्यक्रममा विभिन्न गायक-गायिकाले नारायण गोपालका कालजयी गीत प्रस्तुत गर्दै स्मरण गर्नेछन् । पूर्ण अर्केस्ट्राका साथ नयाँ तथा पुराना गायक–गायिकाको स्वरमा नारायण गोपालका गीतलाई प्रस्तुत गरिने कोषले जनाएको छ ।

१९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ मंसिर १९ गते निधन भएको थियो । २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा उत्तीर्ण गरेका उनका दर्जनौं गीत कालजयी छन् ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading