10/28/2025, 01:31:30
सोमबार, कार्तिक ११, २०८२

‘ईभिआरएस’ प्रणाली प्रभावकारी नहुँदा सेवाग्राही मारमा


सुदूरपश्चिम, ११ मङ्सिरः यातायात व्यवस्था कार्यालय धनगढीले प्रयोगमा ल्याएको अनलाइन सवारी दर्ता प्रणाली (ईभिआरएस) माफर्त् गाडी नामसारी गर्न मनोज लामालाई एक हप्ता लाग्यो । सवारी साधन कारोबार गर्ने कम्पनीका प्रतिनिधि लामाले ईभिआरएसमा पूर्ण विवरण नदेखाउँदा गाडी नामसारी गर्न समय लागेको बताउनुभयो ।

ईभिआरएसमा गाडीको ‘ब्लुबुक’मा सवारी धनी र आर्थिक लगानी गर्नेको नाम देखाए पनि ऋणीको नाम नदेखाउँदा सेवा प्रवाहमा हैरानी भएको कर्मचारी बताउँछन् । अर्का सेवाग्राही मनोज कार्कीले कम्युटरमा राजस्व तिरेकोसम्बन्धी पूरा विवरणसमेत नदेखाउने गरेको बताउनुभयो ।

उक्त प्रणालीले पछिल्ला महिनामा यातायात व्यवस्था कार्यालय धनगढीका कर्मचारी र सेवाग्राही हैरान भएका छन् । ईभिआरएस प्रणाली पूर्ण नहुँदा सेवा प्रवाह प्रभावित भएको कार्यालय प्रमुख विनोद मालीले बताउनुभयो । उहाँले भन्नुभयो, “यातायात व्यवस्था विभागले प्रयोगमा ल्याएको कम्प्युटर सफ्टवेयर अपूरो हुँदा कर्मचारी र सेवाग्राहीलाई समस्या भइरहेको छ, समस्या समाधानका लागि विभागमा लेखिपठाइएको भए पनि उताबाट सम्बन्धित जनशक्ति नभएको भन्ने जवाफ आएकाले समस्या समाधान हुनसकेको छैन ।”

गत वर्षदेखि धनगढी र कञ्चनपुरको महेन्द्रनगरस्थित यातायात कार्यालयबाट ईभिआरएस प्राणालीमार्फत् सेवा प्रवाह भइरहेको छ । बुटवल र नेपालगञ्जस्थित यातायात कार्यालयमा पनि सो प्रणाली लागू गरिएकामा समस्या देखिन थालेपछि बुटवल कार्यालयले पुरानै तरिकाबाट सेवा दिन थालेको जनाएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..