12/24/2025, 17:15:21
बुधबार, पुष ०९, २०८२

सेयर बजार १.३७ अंक बढे, नेप्से २५८५ अंकमा, ३ अर्ब २२ करोडको कारोबार


९ पुस, काठमाडौं । बुधबार सेयर बजार अघिल्लो दिनको तुलनामा झिनो अंक १.३७ ले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५८५ मा कायम भएको छ । सुरुवाती कारोबारका क्रममा उच्च वृद्धिको लय समातेको नेप्से ११ : २६ बजे २५९३ अंकसम्म पुगको थियो । जुन अंक आजका लागि अधिकतम रह्यो । नेप्से झिनो अंक बढ्दा कारोबार रकम घटेको छ । अघिल्लो दिन ३ अर्ब ४२ करोडको कारोबार भएकोमा आज ३ अर्ब २२ करोडको भयो ।

१११ कम्पनीको मूल्य बढ्दा १४२ को घट्यो भने ७ को स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.५२, होटल तथा पर्यटन ०.३६, उत्पादन तथा प्रशोधन ०.११, निर्जीवन बीमा ०.८७ तथा व्यापार ०.२७ प्रतिशत बढे । त्यस्तै विकास बैंक ०.८५, फाइनान्स ०.५५, हाइड्रोपावर ०.२९, लगानी ०.०४, जीवन बीमा ०.०७, माइक्रोफाइनान्स ०.१६ तथा अन्य ०.२८ प्रतिशत घटे ।

इनिफिनिटी लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.३२ प्रतिशत बढ्यो । त्यस्तै नेसनल हाइड्रोपावरको ४.२६, हिमस्टार ऊर्जाको ४.१९, तथा सिद्धार्थ बैंकको ३.९७ प्रतिशत मूल्य बढ्यो । ग्रामीण विकास लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.२३ प्रतिशत घट्यो । कर्पोरेट डेभलपमेन्टको ४.०४, सुपर मादी हाइड्रोपावरको ३.६५ तथा लुम्बिनी विकास बैंकको ३.५७ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यान, मञ्जुश्री फाइनान्स, तेह्रथुम पावर, ङादी ग्रुप र सिद्धार्थ बैंक छन् ।