12/19/2025, 15:28:50
शुक्रबार, पुष ०४, २०८२

सङ्कटको निकासका लागि निर्वाचन मात्र विकल्प : प्रचण्ड


गौशाला (महोत्तरी), पुस ४ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकास दिन प्रतिनिधि सभाको चुनाव नै एक मात्र विकल्प भएको बताउनुभएको छ । उहाँले त्यसका लागि पार्टीका सम्पूर्ण कार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन पनि दिनुभएको छ ।

महोत्तरीको गौशाला नगर कमिटीद्वारा स्व. नेता काशी महतो (करण) को श्रद्धाञ्जली सभामा बोल्दै प्रचण्डले देशलाई स्थिरता र निकास दिन अब चुनावको तयारी अपरिहार्य भइसकेको बताउनुभयो । उहाँले निर्वाचन हुने कुरामा कोही कसैले सन्देह लिन नपर्ने र यदि कुनै कारणवश निर्वाचन हुन सकेन भने पनि राष्ट्रिय सहमतिमार्फत अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

स्वर्गीय काशी महतोको गत मङ्सिर २२ गते हृदयाघातका कारण निधन भएको थियो । प्रचण्डले नेता महतोप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कृषि र सामाजिक रूपान्तरणमा नयाँ ढङ्गले अगाडि बढ्नु नै काशी महतो (करण) प्रतिको वास्तविक श्रद्धाञ्जली हुने बताउनुभयो । काशी महतोले कृषिबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने जोशका साथ जुन अभियान चलाउनुभएको थियो त्यो अनुकरणीय रहेको प्रचण्डले बताउनुभयो ।

प्रचण्डले तराई मधेश उर्वर भूमि भएको बताउँदै यसलाई अन्न भण्डारकै रूपमा विकास गर्नुपर्ने बताउनुभयो । चुरे दोहनको कारण मरुभूमीकरणको समस्या बढ्दै गएको चिन्ता व्यक्त गर्दै प्रचण्डले समस्यालाई यथाशक्य चाँडै समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले काशी महतो (करण) सबैका प्रेरणाका स्रोत रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “प्रेरणाका स्रोतलाई इतिहासमा सधैँ जीवित राख्न सक्नु पर्छ । स्मारिका, लेख, रचनामार्फत उहाँले दिएका योगदानलाई लिपिबद्ध गर्न आवश्यक छ ।” नेपाली कम्युनिस्ट पार्टीका चित्र जर्गाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महेन्द्रराय यादव, गिरिराजमणि पोखरेल लगायत शीर्षस्थ नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।