02/11/2026, 23:28:29
बुधबार, माघ २८, २०८२

रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आज पनि पेशी


बुटवल, पुस ३ : रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीविरुद्धको मुद्दामा आज पनि पेशी तोकिएको छ। यसअघि पटक–पटक पेशी स्थगित भएपछि आज सुनुवाइ हुने अपेक्षा गरिएको छ।

यसअघि मंसिर २५ गते तोकिएको पेशी ‘हेर्न नमिल्ने’ परेपछि स्थगित भएको थियो। त्यसअघि मंसिर ११ गतेको पेशी भने लामिछाने पक्षका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको थियो। यसरी हालसम्म रवि लामिछानेतर्फबाट दुई पटक र छविलाल जोशी तर्फबाट एक पटक पेशी स्थगित गरिएको छ।

जिल्ला अदालतको आदेशविरुद्ध दायर भएको, विगो बराबरको रकम बुझाएर थुनाबाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने मागसम्बन्धी निवेदनमा आज बिहीबारका लागि पेशी चढेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए। ‘आज पेशी तोकिएको छ। यसअघि रवि लामिछाने पक्षबाट दुई पटक पेशी स्थगित भइसकेकाले आज सुनुवाइ हुने सम्भावना छ,’  कुँवरले भने।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको यो पेशी कात्तिक १३ गतेयता निरन्तर सातौँ पटकको हो।  कानुनअनुसार एउटै मुद्दामा पक्ष र विपक्ष दुवैबाट अधिकतम दुई–दुई पटक मात्र पेशी स्थगित गर्न पाउने व्यवस्था छ। यस मुद्दामा सरकारी पक्षबाट भने कुनै पनि पटक पेशी स्थगित भएको छैन।

सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो। त्यसविरुद्ध लामिछाने उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका थिए।

कात्तिक २७ गते न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले मुल अभियोगको सक्कल मिसिल झिकाउने आदेश दिएको थियो। त्यसअघि पनि कात्तिक २० गते सुरु मिसिल मगाउने आदेश भएको थियो। सर्वोच्च अदालतबाट सक्कल मिसिल नआए पनि जिल्ला अदालतबाट प्राप्त प्रतिलिपीका आधारमा आजका लागि पेशी तोकिएको हो।

यस अघि कात्तिक १३ गते पनि पेशी तोकिएको थियो तर छविलाल जोशीका कानुन व्यवसायीको निवेदनपछि सुनुवाइ स्थगित भएको थियो। त्यसअघि भने उच्च अदालतले दुवै प्रतिवादीविरुद्धका मुद्दा एकै प्रकृतिका भएकाले एकैसाथ सुनुवाइ गर्न आदेश दिएको थियो।

जेन–जी आन्दोलनका क्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशी दुवैको मुद्दासम्बन्धी फाइल सुरक्षित रहेको अदालतले जनाएको छ।

सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ। लामिछानेले त्यसको चार भागमध्ये आफ्नो हिस्साको एक भाग बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतसहित दाखिला गरेका थिए। जोशीले पनि सोही बराबरको जमानत पेस गरेका छन्।

तर, प्रतिवादीहरूको व्यक्तिगत बिगो कति हुने भन्ने यकिन नभइसकेकाले दुवैलाई रिहा गर्न नमिल्ने आदेश जिल्ला अदालतले दिएको थियो। हाल रवि लामिछाने र छविलाल जोशी दुवै पुर्पक्षका लागि कारागारमै रहेका छन्।

– घनश्याम गौतम