12/14/2025, 23:28:24
आइतबार, मङि्सर २८, २०८२

एमालेका उपाध्यक्षद्वय शाक्य र ज्ञवालीद्वारा पार्टीभित्र चुनाव नलड्ने घोषणा


काठमाडौँ, मङ्सिर २८ : एमालेका उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य  र युवराज ज्ञवालीले अब पार्टी पदाधिकारीमा नरहने घोषणा गरेका छन् । भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षद्वय शाक्य र ज्ञवालीले ११औं महाधिवेशनमा कुनै पनि पदाधिकारीमा उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।

दुवै जनाले पार्टीमा अरुले पनि अवसर पाउनुपर्ने भन्दै चुनाव नलड्ने घोषणा गरेका हुन् । शाक्य एमालेको ९औं महाधिवेशनमै उपाध्यक्षमा निर्वाचित भएकी थिइन् भने दसौँ महाधिवेशनमा उपाध्यक्षमै दोहोरिएकी थिइन् ।

पार्टीमा झन्डै ७ वर्ष बागमती प्रदेश इन्चार्जका रूपमा रहेकी शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्रीसमेत हुन् । उनी बागमती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन् । उनी २०२८ देखि नै राजनीतिमा सक्रिय थिइन् ।

त्यस्तै ज्ञवाली ०७१ सालमा ९औं महाधिवेशनमै उपाध्यक्षमा निर्वाचित भएका थिए । उनी पनि २०७८ मा सौराहामा भएको १०औं महाधिवेशनमा उपाध्यक्षमा दोस्रो पटक निर्वाचित भएका थिए । उनी २०७० सालमा एमालेबाट समानुपातिकतर्फबाट संविधानसभा सदस्यसमेत बने ।

२०२६ सालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय ज्ञवालीले पार्टीका विभिन्न तह हुँदै संगठन विभाग प्रमुखसम्मका जिम्मेवारी सम्हालेका थिए ।