12/08/2025, 00:40:11
आइतबार, मङि्सर २१, २०८२

सेयर बजार २३.५० अंक घटे, नेप्से २६०७ अंकमा, ५ अर्ब ३३ करोडको कारोबार


२१ मंसिर, काठमाडौं : साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २३.५० अंक घटेको छ । योसहित लगातार पाँच कारोबार दिन बजार घटेको छ । आजको कारोबारपछि नेप्से २६०७ अंकमा कायम भएको छ । कारोबार सुरु हुँदा बढ्ने संकेत दिँदै ११ : ०९ बजे २६३६ अंकमा पुगेको बजार त्यसपछि निरन्तर ओरालोमा रह्यो । कारोबार रकम १० करोड बढेको छ । अघिल्लो दिन ५ अर्ब २३ करोडको कारोबार भएकोमा पनि ५ अर्ब ३३ करोडको भयो ।

४६ कम्पनीको मूल्य बढ्दा २०४ को घट्यो भने ८ को स्थिर रह्यो । बैंकिङ ०.६०, विकास बैंक ०.९३, फाइनान्स १.००, होटल तथा पर्यटन १.२०, जलविद्युत् १.२२, लगानी ०.८९, जीवन बीमा ०.५९, उत्पादन तथा प्रशोधन ०.९१, माइक्रोफाइनान्स १.०४, निर्जीवन बीमा ०.९३, अन्य ०.१२ तथा व्यापार १.२१ प्रतिशत घटे । तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक र झापा इनर्जी छन् । १० प्रतिशत मूल्य बढेसँगै यी ३ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको छ । त्यस्तै मेन्छियाम हाइड्रोपावरको ५.३७, एसियन हाइड्रोपावरको २.६७ प्रतिशत मूल्य बढ्यो ।

सूचीकृत भएपछि अघिल्लो दिनसम्म लगातार १० प्रतिशत नै मूल्य बढेको सागर डिस्टिलरी भने आज घटेको छ । सो कम्पनीको मूल्य ६.९० प्रतिशत घटेको हो । त्यस्तै बुङ्गल हाइड्रोपावरको ८.५१, माबिलुङ इनर्जीको ६.९८ तथा मिथिला लघुवित्तको ५.९० प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा सागर डिस्टिलरी, ङादी ग्रुप, बन्दीपुर केबुलकार, युनाइटेड मोदी हाइड्रोपावर र हिमालयन रिइन्स्योरेन्स छन् ।