काठमाडौँ, मङ्सिर २१ गते । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको महाधिवेशनका लागि प्रतिनिधि छनौटका सन्दर्भमा गलत संस्कार देखिन पुगेको बताएका छन् ।
विगतका समेत प्रतिनिधि भएर महाधिवेशनमा भाग लिएको अनुभव सुनाउँदै उनले प्रतिनिधि छनौटमा पाखुरा सुर्कनुलाई घातक संस्कारको संज्ञा दिएका हुन् ।
‘चौथोमा विशेष कार्यक्रम सफल पार्न भनेर इलाका वाईएलले (युथ लिग) बदम, मकै शिला खोजर सहयोग पठाइयो । तर पाँचौँदेखि आजसम्म (सातौँ बाहेक) प्रतिनिधिकै रूपमा सहभागी हुने अवसर पाइयो,’ बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्राय: सबैमा नीति विचारकै बहस चर्किए, अहिले प्रतिनिधि छनौटमा पाखुरा सुर्केको सुनियो । यो घातक संस्कार हुर्कन दिन हुँदैन ।’
महाधिवेशनका लागि प्रतिनिधि छनोटमा केही जिल्लामा विवाद भएको छ । यस सन्दर्भमा बास्कोटाले सामाजिक सञ्जालमार्फत खबरदारी गरेका हुन् ।
प्रतिनिधि छनोटमा स्थापित विधि र पद्धति अंगाल्नुपर्नेमा उनले जोड दिएका छन् । ‘पाखुरा सुर्किनु राम्रो हो त ?’ उनले भने, ‘प्रतिनिधि चयन कि भोटिङ कि सहमतिबाट हुन्छ । तर जालझेल गरेको छ, षडयन्त्र गरेको छ, कुस्ती खेलेको छ । यो एमालेको संस्कार होइन ।’
यसअगाडिका महाधिवेशनमा नीतिको बहस हुने गरेको पनि उनले स्मरण गरे । ‘पाँचौँ महाधिवेशनमा नीतिकै बहस भयो । छैटौँमा पनि नेपालगञ्ज महाधिवेशनमा अलिकति घाच्चघुच्च चाहिँ भयो । तर, बहस दुइटा मतको बारेमा भयो । प्रगतिशील सुधार कि शक्ति सञ्चयको कार्यनीति भन्नेमा बहस भयो ।’
पाँचौँ महाधिवेशनमा त जनताको बहुदलीय जनवाद, नौलो जनवाद, परिमार्जित नौलो जनवाद, वातावरणीय जनवादसहित अनेक विषयमा बहस र छलफल चलेको उनले बताए । तर, प्रतिनिधि चयनमा अहिले जस्तो नभएको बास्कोटाको अनुभव छ ।
‘त्यसबेला अनेक विषयमा छलफल चले । तर, प्रतिनिधि चयनमा हाट्टहुट्, काङ्लाङकुङ्लुङ केही पनि भएन ।’ बास्कोटाले भने । अहिलेको महाधिवेशनमा नेतृत्व छान्नका लागि केन्द्रित भएकाले नीतिबारे कम छलफल भए पनि प्रतिनिधि छनोटमा एमालेको संस्कार कायम राख्न नसकेको उनले बताए ।
उनी भन्छन्, ‘महोत्तरीतिर हेरेको थिएँ-एउटाको भोट अर्कोले हालेको छ । अविश्वास भन्ने संस्कार त होइन नि । आम चुनावमा त त्यस्तो गरेको मन पर्दैन ।’
यस्तो कार्य आम चुनावमा गर्दा पार्टी जित्ने हुँदा समेत मन नपर्ने उल्लेख गर्दै उनी थप्छन्, ‘यहाँ त हार्दा एमाले हार्ने हो, जित्दा एमाले नै । अर्को कोही हार्दैन, अर्को कोही जित्दैन । यसकारण यस्तो संस्कार निरुत्साहित गरौँ, यस्तो संस्कार जो कसैले गरेको भए पनि राम्रो होइन । यो घातक हुन्छ ।’
उनी प्रश्न गर्छन्, ‘विचारको ठाउँमा बलबाहुले के अर्थ राख्छ र ?’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















